सेतै फुलिसकेका दाह्री र कपालले पनि
भन्न थालीसकेका छन् अब त उसलाई
_’रामबहादुर !!..
अब आराम गर्ने समय तेरो’
तर ती फुस्रै भएका कपालका
तलतिर मन जस्तै नमिठो गरि
खुम्चिएका मस्तकका रेखाहरूमा
कहाँ विश्राम भनेर लेखिएको छ र
उसको निम्ति ।।
आफ्नो जिन्दगीको भोगाइका
सङ्घर्षहरू निल्नु न ओकल्नु
जस्तै भइसकेको छ
उसलाई आजभोलि ।।
ऊ त्यो घर अघिको
बूढो बकैनोको रूख देख्दैछौँ नि..
उसको जिन्दगी पनि तेस्तै
सङ्घर्षका चोटहरूले
पत्रैपत्र भई सकेको छ
अभाव र वेदनाका
रुख्खा झ्याउहरू लागेर।।
शरीरका हाडहरूले पनि मासु छोड्न
थाली सक्यो तर
उसको शरीरले भने अझै
पसिना चुहाउन छोडेको छैन।।
खस्रै भएर फुटेका छन्
हातका औंलाहरू तर
औजारहरूले भने साथ छोडेका छैनन्।।
बल-तागत पनि ओईल्याउन
थालिसके अब त
तर जिम्मेवारी थाम्ने
खाबो भने अझै बनिसकेकै छैन।।
थाहा छ…
अक्षरहरूले पनि भाग्यले जस्तै
ठगेका छ्न उसलाई..
पोहोर साल नै त हो
उसले माईला बाजेबाट
थोरै पैसा ऋणमा लिएको
साहु भन्दा ब्याज दोब्बर भैसक्यो बुझाएको
तर नि छैन अझै
उसको उधार चुक्ता भएको ।।
हेर्दाहेर्दै उसको शरीर पनि अब त
उसले लाउने त्यान्द्रो
जस्तै भैसक्यो
तर नि सास ओक्येलेर
आगो निल्ने सीप भने
मजाले जानेको छ उसले ।।
आजसम्म हजारौँ फलामहरू
पगाल्न सक्यो उसको कौशलले
तर मान्छेको मनलाई भने
कहिल्यै पगाल्नै सकेन।।
कयौँ मुर्तीहरू पुज्न योग्य
बनायो उसले
तर आफू भने कहिले
सम्मानको धरी योग्य बन्न सकेन
नाम र पुरस्कारहरूको त कुरै छाडौँ।।
आजभोलि सपनाहरूले भरिएका उसका
आँखाहरूलाई पनि निराशाको बादलले
ढाकी सकेको छ।
अब त कल्पना धरी गर्दैन ऊ
कति सुन्दर र भरिला रहरहरू थिए उसका
ती पनि अब त अनुहार जस्तै
चाउरी पर्न थाली सके।।
हुन त कुनै पुँजीपतिको जस्तो
महँगो गाडीघोडा र फ्याक्ट्रीहरूको
रहर होईन उसको
न त कुनै लालची नेताको
भाषण झै कसैलाई झुठो आश्वासन
देखाउने मनोवृत्ति नै छ।।
उसको जिन्दगीको अभिलाषा भनेको नै
मान्छे भएर मान्छे जस्तै
जिउन पाउने समान अधिकार हो।।
आफुले दिएको सम्मानको बद्ला
आफ्नो लागि सम्मान होस्।
अन्यायको विरूद्धमा अब
एकजुट भएर उठ्ने आवाजको हो।
ठुला भनाउदाहरूबाट अब
कोही तिरस्कृत नहुन भन्ने कामना हो
अनि ऊ जस्तै हजारौँ
रामबहादुरहरूलाई
मात्र रामबहादुरको
हैसियतले व्यवहार गरि
मजदुरी भेदभावको
समाजमा अन्त्य सङ्गै
श्रम र श्रमिकको सम्मान होस् भन्ने हो।
रामबहादुरको अभिलाषा।।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।