निराजन बञ्जाडे

 

एक ऐना छ
उसले सधैँ हेरिरहन्थ्यो
बचपनमा आफ्नो मुहार
कपाल मिलाउँथ्यो, मुस्कुराउँथ्यो
अहिले पनि त्यही ऐना छ
ऊ उभिन्छ
देख्दैन आफ्नो हँसिलो मुहार
देख्छ असफलतका ताँती
हार खाएका सपना
अनि ओइलाएको चेहरा ।

यो समाजदेखि अघाएको ऊ
हजारौं हन्डर खाएको ऊ
औंसीको रातको अन्धकार हटाउन
पहिलो किरणजस्तै
ऊ खोज्दै छ अगाडि बढ्न एउटा चम्किलो ज्योति
ऊ बस्छ चौतारीमा हेर्छ आकाशतिर
लाग्छ गिज्याइरहेछन् ती स्वतन्त्र उडिरहेका परेवाका जोडी
ऊ हेर्छ भैँतिर लामा लस्कर
लाग्छ जिस्काइरहेछन् कमिला उसको एक्लोपनदेखि
ऊ हेर्छ हिमालतिर
लाग्छ, हिमाल हाँसिरहेछ उसको असफलतादेखि
ऊ फेरि हेर्छ, रुखको हाँगाबाट झरेको पात
जो भरिकन आफ्नो कर्तव्यबाट मुक्त भएर नाच्दै नाच्दै झरिरहेको छ
अनि सोच्छ, आफ्ना कर्तव्यको लामो सूची
जो अझै अपूरा छन्
प्राप्तिका लागि कुरिरहेका छन्
अनि फेरि लाग्छ, आफ्नो कर्मपथको
बाटोमा आफ्ना खयालहरूलाई
पन्छाउँदै ।

ठूलापोखरा -६, छात्रदेव, अर्घाखाँची