मरुभूमिमा फ्याँके जसरी फ्याँकिदिन्छन्

जीवनका कठिन गोरेटाहरूमा

र पत्तै नदी बिछ्याइसकेका हुन्छन्

आफ्ना लामा पैतालाका डोबहरू

 

जो चिस्याइरहेका हुन्छन्

हामीलाई पोल्न बसेका

ताता अड्चनहरूलाई

 

गज्जब छन् बा पुस्ताहरू !

 

खैनीका केस्राहरूलाई

देब्रे हातको अँजुलीमा समेट्दै

दाहिने हातको बूढी औँलाले बेस्सरी मिलाउँछन्

र प्याटप्याट पड्काउँदै

चोर औँला तेर्साउँछन् नैतिकताको बाटोमा

 

साँच्चै, गज्जब छन् बा पुस्ताहरू !

 

बेलाबखत उचालिदिन्छन्

आकाशभन्दा पनि अग्लो चुचुरोमा

र ताल परे कान निमोठी झारिदिन्छन्

आफ्नै धरातलमा

 

गज्जब छन् बा पुस्ताहरू !

 

खुसीहरू भाँच्चिएर खस्छन्

बा-का खल्तीभित्र

उनी एक-एक खुसी समेट्छन्

र, हामीलाई हस्तान्तरण गर्छन्

एक सम्पूर्ण खुसी

 

साँच्चै, गज्जब छन् बा पुस्ताहरू !