बसाइँ सरी गएको
नादुन चराले खसाइराखेको
सिमलको भुवाजस्तै
मसँग केही प्वाँख छन्

जसलाई-
म खसेर पनि खस्न दिएको छैन
म हराएर पनि हराउन दिएको छैन
र,
हृदय वरिपरि उडिरहन्छ्न्
जुनताराझैं
धुमिल सम्झनाहरू भएर
मौनताको आकाश भएर

म प्रेममा थिएँ
कहिल्यै पिँजडा बनाइनँ मैले
यो उडिगएको नादुनलाई थाहा थियो
खोई कसरी ?
नफर्किने गरी अनन्त यात्रामा निस्कियो
म अझै उस्तै प्रेममा छु
यो मबाहेक प्वाँखलाई मात्रै थाहा छ

म –
प्वाँखले मेरो संवेदना चोप्छु
र, अनन्त आकाशमा
ऊ स्वतन्त्र उडिरहेको कल्पित स्केच बनाउँछु
र, एक अनुभूत फिस्स हाँस्छु

फर्किऊन् फेरि लाग्दैन
बसाइँ सरी जानेहरू
ऋतुपिच्छे फेरिनेहरू

आफ्नो भइरहनु त
प्वाँखझैं –
उडिरहने सम्झनाहरू न हुनेछ !