विष्णुप्रसाद न्यौपाने

 

विष्णुप्रसाद न्यौपाने

बाँच्ता जीवन धान्न वा मन सदा सत्मार्गमा ल्याउन
द्यौतामा शिर, देह लम्पट गरी वैकुण्ठवासी हुन
बस्छन् मन्दिरमा अतृप्त फलको विश्वास, आशा गरी
त्यस्ता मानिस मात्र मोक्षकुलमा तर्छन् कि के हो हरि ?
(१)

आधा मुण्डित भै ललाट तनमा घस्ता खरानी सधैँ ?
आँखा चिम्म गरी पुकार हरिको गर्दा छ मुक्ति कुनै ?
फैलाई नित हात शून्य नभमा के सिर्जना गर्नु र ?
खाई कर्मविना दुहेर पसिना वैकुण्ठ के तर्नु र ?
(२)

अर्काको घरमा बसी श्रमिक जो रोएर काट्छन् जुनी
कस्तो मुक्ति दिने हिसाब छ सुनौँ के प्राप्त गर्छन् तिनी ?
जो अल्छी अति कामचोर जन छन् पस्रेर ढोग्छन् तिनै
के लान्छौ र बसाइँ स्वाँठ बटुली वैकुण्ठमा लोभिँदै ?
(३)

छिः ! छिः ! बन्दछ सम्प्रदाय नमिले ‘सन्तान’, ‘आफ्नै पति’
बाटोमा पद–डोबमा छुइछिटो हाल्छन् अहो ! दुर्मति
जो गर्दैन कमाइ तप्प पसिना काढेर त्यो माथमा
त्यस्को गाँस अवश्य कट्छ उसका सन्तानका गाथमा ।
(४)

सम्झन्नन् इतिहास के छ अघिको ? कर्तव्य के हो भनी
बिर्सेझैँ किन गर्नु ‘ढोङ’, ‘नखरा’ धत् ! नाट्यकर्मी बनी ?
‘काँचा मानिस’ रे, ‘अभक्ष्य कुलका’ सन्तान रे ‘दानव’
यौटा मन्त्र सुनेर देवकुलमा उत्रन्छ के मानिस ?
(५)

हो राम्रो गुण काटमार झगडा हिंसा नगर्ने प्रण
रक्सी, मासु, नखानु भाङ, धतुरो मात्ने कुनै रासन
आत्माको जग प्राण हो यदि भने खैँचेर प्राणै पनि
मार्दा पाप हुनेछ आँत बिचरा ! धिक्कार्छ आस्था पनि ।
(६)

हाम्रा हात, शरीर, पाउ छरिता मस्तिष्क पायौँ किन ?
सेवामा श्रम गर्न झार्न पसिना ऐश्वर्य उब्जाउन
त्यागी कर्म किमार्थ धर्म धरणी उम्रिन्न आफैँ जन
हुन् प्यारा पसिना सुमार्ग जलका वैकुण्ठ पुग्ने धन ।
(७)
(छन्दः शार्दूलविक्रीडित)