हिजो हावामा आई कानमा सुसाउँदै फर्केर गई
अघि त पानीमा मिसिएर आई प्यासै पो मेटाई
घामको किरण बनी आउँछे ताप दिएर अस्ताउँछे
पूर्णेको रातको जुनजस्तै जीवनै उज्यालो पार्छे

बाटोमा हिँड्दा सँगै पछ्याएको आभास दिन्छे
झस्किँदै फरक्क फर्केर हेर्दा एक्लै बनाउँछे
खाना पकाउँदा ऊसँगै पकाएजस्तो लाग्छ
दुईओटा थालीमा पस्कन्छु तब पो चाल पाउँछु

बादलसँगै मेरा सपनाका आकार बनाउँछे
मलिलो माटो बनेर मलाई उब्जाउन खोज्दछे
सिरानी बनेर सुताउँछे, अँगालोमा बेरिएजस्तो पार्छे
उठेर हेर्छु स्पर्श गर्छु आफूबाहेक कसैलाई पाउँदिनँ

ऊ आकाशमा चरासँगै नाचेको जस्तो लाग्छ
धर्तिबाट म मुस्कुराउँदै उसको नाच हेरेर बस्छु
बाटोको ढुङ्गाको आकृतिमा पनि ऊ पाउँछु
कल्पनाकी ऊसँग माया पो खै कसरी लाउँछु ?