चीनको उहान सहरबाट सुरू भएको
कोरोनाभाइरसको त्रासदीले
सारा संसार छोपिदिँदा
संक्रमण अरू नफैलियोस् भनेर
आफ्नै घरमा केही समयको लागि
तिम्रो लकडाउन सुरू भयो ।
बच्चा र आमामध्ये
एउटालाई मात्र बचाउँन सक्ने
चिकित्सकको कुरा सुनेर
आफू मरेर मलाई जन्मदिने
मेरी आमाको मृत्युपछि
अर्की बिहे गरेर बाबा अर्कै भइदिँदा
सौतेनी आमाबाट जव म बेचिए
बम्बैको कालकोठीमा
मेरो लकडाउन सुरू भयो ।
तिम्रो लकडाउन
हरेक अखबारका पानामा छ
मेरो लकडाउन
फगत कविता र गानाहरूमा छ
तिमीलाई सम्भावित मृत्युबाट बचाउँन
संसारले रक्षक बनेर हात फैलाएको छ
मलाई भने त्यही संसारले
भक्षक बनेर पलपल मेरो जवानी मैलाएको छ ।
तिम्रो लकडाउनमा झरेको आँसु
र मेरो लकडाउनमा झरेको आँसुको
रंगमा समानता भएपनि
रसमा आकाश पातालको भिन्नता छ
तिम्रो आँसुमा मृत्युको भएछ
मेरो आँसुमा जीवनको भएछ ।
तिम्रो लकडाउनको अन्तनिश्चित छ
मेरो लकडाउनको अन्तअनिश्चित छ
तिम्रो लकडाउनको सीमा
भाइरसको अन्तसँग जोडिएको छ
मेरो लकडाउनको सीमा
मेरो जीवनको अन्तसँग जोडिएको छ ।
म चाहन्छु
तिमीलाई तिम्रो लकडाउनबाट
छिट्टै बाहिर निस्कनु परोस्
मलाई भने मेरो लकडाउनबाट
जीवितै बाहिर निस्कननपरोस्
किनकीतिम्रो लकडाउनको दुनियाँमा मान छ
मेरो लकडाउनको दुनियाँमा अपमान छ
तिमीले लकडाउनबाट मान कमाएका छौ
मैले लकडाउनबाट बदनाम कमाएकी छु ।
तिम्रो लकडाउन
अन्तमात्र होइन अन्तिम भइदियोस्
विज्ञानले यस्तो चमत्कार गरिदियोस्
कि फेरि कहिल्यै मानिसले
घर भित्रै बन्धक बस्नु नपरोस्
तिम्रो जस्तै
मेरो लकडाउन पनि अन्तिम भइदियोस्
मानवमा मानवता मौलाओस्
महिलाप्रतिको विषालु नजरको अन्त होस्
ता कि फेरि म जस्तै अरू कुनै चेली
यसरि कालकोठीभित्र
लकडाउनमा बस्नु नपरोस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।