माधव खनाल

 

माधव खनाल

ऊ मसानबाट उठेर शालिकमा विलिन भयो
जतिबेला चिल्लो गाडीबाट ओर्लेर
राष्ट्रको पदधारी मान्छेले फूलमाला अबिर चढायो
सलाम ठोक्यो
ऊ शहीद बन्यो

चुनाव आउँदा ऊ पटक पटक भाषण बन्यो
कहिले दशगजा कहिले सगरमाथाको शिखर पुग्यो
कहिले बुद्धको पाइलामा पुग्यो शान्ति बन्यो
देशको मानचित्र कोर्ने अविरल रगतका मसीका खोलामा बग्यो

शोषणको चित्कार बोकेको हावामा घुलेर क्षितिजपारि हरायो
डढेलो लागेको जङ्गलमा पानी छर्कन जाँदा आफैँ खरानी भयो
आमाको उपचारमा ऊ आफैँ मलामी भयो
अहिले अक्षर अक्षर शब्द शब्दमा कविता बन्छ
उसलाई झुण्डाइएका रुखहरू ठिङ्ग उभिएर
सपनाहरू सोधिरहन्छन्
असल छोरो ?
असल मान्छे ?
अनि उभित्रको विद्रोह सडक चिच्याउँदै
हिँउदका चिसा रातहरू सहँदै
खडेरीका टन्टलापुर घाम सहँदै

सडकमा मूक उभिरहन्छ
उसको शालिक
जीवन दर्शन र भोकलाई
मुजा परेको गालाबाट झार्दै
पुत्र वियोगबाट छट्पटाएकी आमा
पति वियोगले तड्पिएकी युवतीको पीडा बन्छ
बाबुआमा गुमाएका टुहुराहरूको चित्कार बन्छ
राष्ट्रियता
स्वाभिमान र
गौरव
बचाउन ऊ शहीद बन्छ

रगतको आहलमा टेक्दै
पद र कुर्चीको लडाइँ लड्नेहरू
आफ्नै सपनाको मलामी बनिरहेका छन्
भोकाहरूको बस्तीमा
भस्मासुरको डढेलो लगाएर
गुहार्दै
हे शहीद !
हे शहीद !
हे शहीद !

बूढानीलकण्ठ स्कुल, काठमाडौँ
स्थायी ठेगानाः लमजुङ