आयुष बडाल

 

आयुष बडाल

प्रिय शक्तिशाली पेट्रोल
तिम्रो शक्तिबाट-
दनदनी बलेको अग्निको तापमा
पक्कै पनि
डुबाउनु पर्थ्यो तिमीले
तर
त्यो इमान्दार र श्रमजीवी प्रेमलाई होइन
ती
उडुसहरूलाई-
जसले इमान्दारीको रक्तनली चुसेर
आफ्नो तिर्खा मेट्दै आएका थिए

हो-
दनदनी बलेको अग्निको तापमा
पक्कै पनि
डुबाउनु पर्थ्यो तिमीले
तर
त्यो निर्दोष पत्नी र नाबालकको
मनलाई होइन
ती
नालायकहरूलाई-
जसले श्रमजीवीको पसिना चुसेर
नेतृत्वलाई पोस्दै
अनि
कर छल्दै हिँडिरहेका थिए

प्रिय पेट्रोल
हेर त आज-
तिमीले
विचरा प्रेमलाई दनदनी बालेर
जिउँदै आमा र छोरालाई भतभती पोलायौ

आखिरमा के पायौ ?
प्रिय शक्तिशाली पेट्रोल तिमीले
प्रेम र अग्निको मिलन गराएर-
एउटी नारीलाई विधवा

अर्को नाबालकलाई टुहुरो बनाएर ?

ए ए बिर्सेको
पक्कै पाउँछौ-
बेकम्मा
जागँरमरुवाबाट धन्यवाद

पतनेश्वर बाबाहरूबाट आशीर्वाद

तर बिन्ती छ-
एक मुठी धन्यवाद

एक चिम्टी आशीर्वादको लोभमा
श्रम र पसिनाले निथ्रुक्कै भिजेका
ती अबोध प्रेमहरूसँग-
कहिल्यै प्रेम नगर्नू ।