प्रेमराज परियार

 

प्रेमराज परियार, prem raj pariyar

प्रेमराज परियार

म काललाई दाहसंस्कार गरेर आएको हुँ
तिमी मलाई मृत्युदेखि तर्साउछौ ?

म त हत्याको हत्यारा हुँ
तिमी मलाई निर्ममताको पाठ घोकाउछौँ ?

म जन्मलाई जन्माएर आएको हुँ
तिमी मलाई आमाशयको कथा सुनाउँछौ ?

म त हारलाई हराएर आएको हुँ
तिमी मलाई अक्षमताको व्यथा बेलिबिस्तार गर्छौ ?

म त जीतलाई जितेको मान्छे हुँ
तिमी मलाई सफलताको घुर्की लगाउँछौ ?

म त दुःखलाई दुःख दिएर पो आएको हुँ
तिमी मलाई तडपनको डोब देखाउँछौ ?

म त आँशुलाई रूवाएर आएको मान्छे हुँ
तिमी मलाई आँशुको मूल्यबारे पढाउँछौ ?