आज सबैलाई नाङ्गो सम्झन्छु म।
आमा नाङ्गो
बा नाङ्गो
छर-छिमेक नाङ्गो
गाउँ शहर अनि
देश नाङ्गो
छि ! कस्तो अश्लील मान्छे म
असभ्य मान्छे म
अप्राकृतिक मान्छे म।
तर जुन दिन मान्छेले कपडा लगायो
त्यसै दिन प्रकृतिबाट विमुख भो उ
त्यसै दिन मष्तिस्कमा वेश्या जन्मायो
त्यसै दिन गाउँमा बलात्कार जन्मायो
कपडाले नै होइन र ?
दुशासनको जन्म भएको।
प्राकृतिक र सभ्य मान्छे
लुकेर हेर्ने गर्छ नीलो फिल्म
ए साच्चै !
पहिलो दिन
पहिलो मान्छेले
कपडा लगाँउदा कति लाज मान्यो होला नि !
मलाई त
नाङ्गो आकाश मन पर्छ
नाङ्गो धरती मन पर्छ
नाङ्गो पशु प्राणी मन पर्छ।
किन ओढेको होला प्रकृतिले
सभ्यताको अप्राकृतिक भवनहरु
नाङ्गो हुनु नि प्रकृति
छि ! कस्तो अश्लील मान्छे म
सब नाङ्गो मन पराउने।
तर नि !
मान्छेले कपडासँग लगाएछ कपट
छल
ईर्ष्या
द्वेष
अहंकार
लोभ
लालच
त्यसैले पो होला नि !
असली चेहरा छोप्नलाई मान्छे
हरपल लगाँउछ आडम्बरी सुन्दरताको
मास्क !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला