कृसु क्षेत्री

 

जुन योनिका लागि र्याल काढ्छौ
हिंसा गर्छौ
चिथोर्छौ कोपर्छौ
हत्या गर्छौ
त्यही योनिबाटै जन्मेका हौ तिमी

केही हैन
गोडमेल नगरेको फूलबारीजस्तो
अलिकति रहस्यमय गुफाजस्तो
अलिकति टाकुराजस्तो
यदाकदा फोहोर बग्ने कुवाजस्तो
एउटा दुर्गन्धजस्तो
त्यति मात्रै हो योनि
जसका लागि
आफूलाई अपराधी सावित गर्छौ
नारीलाई समाजमा अपमानित गर्छौ

कति आएको उन्माद पनि
ससाना नानी भन्दैनौ
बृद्धा अपाङ्ग असहाय भन्दैनौ
योनि मात्र भए पुग्छ
अनि थाल्छौ बलात्कार गर्न

बलात्कार गर्दै गर्दा
एकपटक सोच त
त्यो तिम्री आमा हो
आफ्नै आमाको सुन्दै चित्कार
अनि गर निर्धक्क बलात्कार

बल्ल च्वाट्टै छिनाउने छौ
तिम्रो त्यो आवेशको लिङ्ग
र नारीझैँ हुनेछौ तिमी पनि

ए बलात्कारी पुरुष
तिमीले लुट्नै पर्ने इज्जतको खोल ओढेको त्यही योनिबाटै
जन्मेका हौ तिमी पनि ।