अनुज पाण्डेय

न पाउँछस् कुनै कुरा सबै कुरा गुमाउँछस्
हराउँदै गएर प्रेममा सधैँ डुबाउँछस्
कता-कता यता उता जताततै त भ्याउँछस्
परेर दुःखमा स्वयं तँ प्रेममा रमाउँछस् ।।

न प्रेमले कुनै कुरा दिएर गर्नु धारण
खुसी सधैं गराउने न हुन्छ फेरि कारण
तँ भन्दछस् गएर चन्द्रमा टिपेर ल्याउँछु
र चन्द्र झैँ मुहारमा म चन्द्रमा सजाउँछु ।।

करोडको छ भीड एकमा तँ मुस्कुराउँछस्
अगाडि पर्न पाउँदा सधैं-सधैं लजाउँछस्
न त्यो मुहारमा कुनै प्रकाश तत्त्व तेज छ
न थालनी छ अन्त्य अर्ध वा कुनै बिराम छ।।

तँ गर्न छोड्दछस् अनेक काम एक नाममा
र एक नामले सदैव छुट्दछस् इनाममा
न स्वार्थ हेर्दछस् कुनै मुहारमा रमाउँछस्
लगेर भीरमा समाउँदै कता लडाउँछस् ।।

तँ के गरेर हिँड्दछस् अनेक दुःख पाउछस्
हुँदैन पूर्ण प्रेम त्यो अचेत भै कराउँछस्
तँ बस् यतै गरेर नित्य ध्यान आत्मचिन्तन
नजा कतै यता-उता न हो कतै समर्पण ।।

अनुज पाण्डेय