Chovar Blues Mobile Size

 

सुशीला शर्मा

सुशीला शर्मा

म सानो मान्छे, मेरो ठूलो घर छ,
जब म स्कुलबाट आउँछु, मलाई पनि आफ्नै घरमा बस्ने रहर छ
तर यो भीमकाय गेट म आफैं खोल्न सक्दिनँ
आफ्नै घरको पेटीमा बसेर पनि म
ठूलो स्वरले रुन सक्दिनँ
म भोक लाग्यो भनेर भन्न पनि सक्दिनँ
म सु आयो भनेर भन्न पनि सक्दिनँ
किनकि
मेरो ममी-बाबा अफिस जानु भएको छ
मेरो स्कुलको फि नाना र मामको जोहो गर्नुछ
अनि सबै गरेर पनि मेरो ममीलाई आफ्नो भविष्य रेखा पनि त कोर्नु छ

त्यसैले म ठूलो स्वरले रुन पनि सक्दिनँ
किनकि
म रोएँ भने मेरो ममी पनि रुनु हुन्छ
उहाँले लेख्ने कपी फेरि आँशुले धुनुहुन्छ
उहाँले सुत्ने सिरानी फेरि आँशुले भिजाउनु हुन्छ
उहाँले लगाउने पच्छ्यौरी फेरि आँशुले भिजाउनु हुन्छ
उहाँले खाने मामभरि फेरि आँसु पोखाउनु हुन्छ
त्यसैले म ठूलो स्वरले रुन पनि सक्दिनँ

म सानो मान्छे, मेरो ठूलो घर छ
त्यो घरको गेटमा ठूलो ताल्चा छ
तेसभित्र फेरि अर्को गेट छ
तेसभित्र फेरि अर्को ताल्चा छ
तेसैले म मेरो घरभित्र पस्न सक्दिनँ
मेरा कोही नभएर होइनन्, मेरा त सबै छन् तर मन्दिरका देवताजस्ता छन्
जो म भेटी लिएर भेट्न गए मात्र खुशी हुन्छन्
म सानो छु मन्दिरमा एक्लै जान सक्दिनँ
त्यसैले म ठूलो स्वरले रुन पनि सक्दिनँ

वरिपरि घर नै घर छन् तर मलाई बोलाउने कोही छैनन्
वरिपरि पर्खाल छन्, पर्खालभन्दा ठूला गेट छन्
अनि ती गेटभन्दा ठूला त मान्छेका ठूला मस्तिष्क छन्
जसभित्र म सानो मान्छे पस्न सक्दिनँ
किनकि ती मेरा सबथोक हुन् तर म उनीहरूको कोही होइन रे !
मलाई माया देखाएर उनीहरूले केही पाउन्नन् रे !
भरे राति ममी आएपछि म पेटभरि रुन्छु
कैले पेट दुख्यो भनेर
कैले भोक लाग्यो भनेर
कैले अब अफिस नजानु भनेर
कैले साथीसँग झगडा भयो भनेर
तर म कैले भन्दिनँ ममीलाई नपढ भनेर !

किनकि
ममीले सानोमा पाउनु भएको झुपडी भित्रको न्यानो काख यो शहरमा पाइन्न
हजुरामाले सुनाउने लोरी मैले सुन्न पाउन्न
माइली, कान्छी हजुरआमाकोमा जाने ओल्लो घर पल्लो घर यो सहरमा छैन
मझेरीमा लाग्ने न्यानो घाम अनि आँगनीमा खेल्ने पाठापाठी यो सहरमा छैनन्
त्यसैले म कैले ठूलो स्वरले रुन्नँ किनकि
यो शहर हो
ठूलो घरभित्र म सानो मान्छे आफैं पस्न सक्दिनँ ।

(दोलखा)
हाल: भक्तपुर