गम्भीर दुवाडी
सहेर फल्नु रहस्य होला
मरेर जल्नु अवश्य होला
जलेर मर्नु अवश्य नहोस्
मनोदशा प्रायः सबैको
तैँ चुप मै चुप
एउटा न नाङ्गिएसम्म
अर्को नलजाउने
गलेको भीर
ढलेको वीर
बलेको शीर
प्रहरपिच्छे
आत्मा बनेर
कुक्ककुक्क बाडुल्की लागिरहन्छ
वंशजको पुरानो खाटो
सन्ततिलाई नाशो
किन यो माटो
किन यो बाटो
बनाउँदैन बाठो
किन बनाइरहन्छ
सधैं लाटो
गिद्दहरू
कमिलासँग
मौरीसँग
उठाउँदैछन् कर
खुशियाली मनाउँदै
सिनो लुछ्दै
दुर्गन्धित बनाउँदैछन् घर
कहरमा शहर पस्नेमाथि
रहरमा शहर पस्नेले
न गरिखान दिन्छ
न मरिजान दिन्छ
नयाँ नयाँ अनुहारबाट
पाँच पाँच वर्षमा
समृद्धि दिन्छ
झुक्किएर बाँच्न सफल भएकाहरू
मृतकलाई कायर भन्दै
पुरानो शालिकको अघि
उभिएर शपथ खाने
नव मालिकको पछि
यो देश हो कि
बधशाला हो ?
सोधिरहेछन् पीडित आवाज
गम्भीर दुवाडी
गजुरी, धादिङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला