कविताः तिम्रो संसार

पुष्कर बिसी

आँसुको कारोबारमा
नाफा कमाउनेहरू के गर्लान्
भोलिदेखि म हाँस्न थाले ?
प्रश्नैप्रश्नमा
तिमी सधैँ मुस्कुराइरहनु
यो सहर
तिम्रो खुसीमा मुस्कुराउनेछ
तिम्रो हाँसोमा खित्किनेछ
तिम्रो प्रेमको सचेतनाले दिएको उचाइबाट
म नियालिरहनेछु
यो संसार
यो सहर
र, तिमी

आधा प्रेम

आमाको पुरानो थैलीबाट पैसा चोरेर
आधा आधा बाँडेर खाजा खाएको
सम्झन्छु म
मलाई पछुतो छ
सायद सबै भाग तिमीलाई खुवाएको भए
जिन्दगीभर सँगै हुन्थ्यौँ होला
सोच्छु
आधा-आधा बाँडेर खाएकै कारण
आधा जिन्दगीबाटै टा…ढा गयौ
कहिल्यै नफर्कने गरी ।

 

चिसो सम्बन्ध

सेतो ज्याकेटको
कालो चेनजस्तै त रहेछ
हाम्रो सम्बन्ध पनि
म कर्तव्य निभाउँदै गएँ
चेन लगाइरहेँ, सम्बन्ध न्यानो भइरह्यो
तिमीलाई गर्मी भएछ
सम्बन्ध फुकाउँदै गयौ
चेन खोल्दै गयौ
तिमीलाई थाहा छ, सम्बन्ध चिसियो ?
आज सोचिरहेछु
ज्याकेटको ढोकाबाट पस्नेहरूको भीडमा
सायद म कतै देखिन्छु होला ?

प्रेम अधिकार

घर अगाडिको बुढो पीपलमा
तन्नेरी जुरेलीहरू चुच्चो जोडिरहेछन्
उफ्
मायाको ह्याङ ओभर कति चर्को ?
सकिएन मायाको गीत लेखेर
हो
प्रेम त सबैले गर्न पाउनुपर्छ
आजकल प्रेम लेख्न डराइरहेका नानुहरूका हातमा
कलम थमाइदिन मन छ मलाई ।