निर्देश अधिकारी

छैन रहेछ बुद्ध भूमि, पुस्तकमा कोरेझैँ
सजिलो कहाँ छ र देश बनाउन, मीठो सपना देखाएझैँ
सजिलो छैन कलम चलाउन, बन्दुक चलाएझैँ
सजिलो कहाँ छ र आफैँ गरिखान, दास दलाएर खाएझैँ
काफी रहेछ इतिहास, वर्तमानको दुर्गति लुकाउनलाई
खेल्न जान्नुपर्ने रहेछ यहाँ, गरिखाने वातावरण बनाउनलाई
दुई चार बोरा चामल बाँडिदिए पुग्दोरहेछ, कालो धन लुकाउनलाई
जय राष्ट्र बोलिदिए पुग्दोरहेछ यहाँ, राष्ट्रभक्ति देखाउनलाई
निमुखालाई छुटसमेत छैन यहाँ, नसोधी रुनलाई
नातावाद र आफन्तवादको प्रभाव रहेछ यहाँ, आफूले चाहेको ओहोदा पाउनलाई
सजिलो छैन रहेछ यहाँ, भ्रष्टाचारबिना ठाउँमा पुग्नलाई
बदमासी गरेर बस्नुपर्छ यहाँ, पदकले सु-सम्मानित हुनलाई
भोको पेट र चिसो भूइँमा जनता कुर्दै बस्छन् यहाँ नेताज्यूलाई लाखौंको गलैंचामा हेर्नलाई
भीड जम्मा गरिबस्छन् कार्यकर्ता, व्यक्तिगत आर्थिक रुप फेर्नलाई
राष्ट्रिय झण्डाको महत्त्व के थाहा, दलको खोलमा रमाउनेलाई
राष्ट्रप्रेम के थाहा, राष्ट्र धरौटी लुटेर खानेलाई
व्यापार बनाउनसमेत भ्याएछन्, युवा शब्दलाई
कोही सिकाइदेऊ
उमेर हैन नीति चाहिन्छ देश बनाउनलाई ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 





