छन्द-मालिनी

 

अलिकति सुखमा खै रम्न तिम्ले सिकेनौँ
रगत र पसिना यो देशमा अर्पिएनौँ।
कतिपय पिर पीडा छन् दुखीका नगन्नु
डलर कति कमायौँ भो मलाई नभन्नु ।।१।।

नभन नभन गोजी हो धनी रैछ तिम्रो
डलर डलर मात्रै जीवनी रैछ तिम्रो।
सुख सयल नहेरी देशमा खोट देख्छौ
अरब र रसियामा नोटका बोट देख्छौ।।२।।

खिच अझ कति खिच्छौ कोट लाएर फोटो
रङ विहिन छ दौरा बिर्सिएछौ कि भोटो?
सुखसित अब बोर्डिङ् जान थालेछ छोरो
बियर पिउँछ आँटो खान खोज्दैन छोरो।।३।।

सुन हिमगिरिमा छन् ,छन् बुटी टाकुरामा
अमृत विहित गङ्गा ,रत्न छन् कन्दरामा।
श्रम गर बल तिम्रा धेर छन् पाखुरामा
भन न भन तिमीले छैन के यो धरामा ।।४।।

दलिन नजिक आमा छिन् रुँदै सम्झनामा
टहटह जुन लाग्दा हेर्दछिन् आसमान ।
श्रम सहज गरौँला हातमा हात राखी
सरिक रहर बोकी फर्क नेपाल साथी ।।५।।

देवघाट ५, तनहुँ