
म तिम्रो सपना पुरा गर्ने छैन कविताको फिचर तस्बिर
म तिम्रो सपना पूरा गर्ने छैन
तिम्रो सपना फुल्ने टाकुरादेखि
धेरै तल थियो त्यो अन्तिम पदचिह्न
जहाँसम्म तिम्रा उमेरका पाइलाहरू
उक्लिन सके।
तिम्रो सपना र धोकोबीचको दूरत्व नाप्न
मेरा तरुण पाइलाहरूलाई
उत्तरदायित्वको बोझिल जुत्ता पहिऱ्याउन
अस्वीकार गरिरहेछु।
हो बाउ! म तिम्रो सपना पूरा गर्ने छैन।
तिम्रो वीर्यमा मेरो जीवनको सूत्र
अनि नाक नक्शाको वंशाणुसँगै
जात धर्म पनि आएको हो
तर वीर्यमा सपना हस्तान्तरण हुन सक्दैन
जीवनजस्तै सपना पनि निजी हुन्छ
नितान्त निजी।
एउटा वीजबाट जीवन
प्रस्फुटित हुनु भनेको
सृष्टिले आफूलाई
एउटा माध्यम भएर अभिवक्त गरेको हो
तर त्यो जीवनको मालिक्याइँ
न माटोको हुन्छ
न त त्यो पैतृक वृक्षको।
एउटा वृक्षले आफ्नो मञ्जरीलाई
दिन सक्ने नै छत्रछायाँ हो
मौलाउन आफ्ना पातहरू खसाएर
पोषण दिनसक्ने हो
अनि आफ्ना हाँगाहरूमा
अधिकारका केही जुरेलीहरूलाई
आशका गुँड बनाउन दिनसक्ने हो
तर त्यस मञ्जरीलाई जरा गाँजेर
बाँच्ने सिद्धान्त बलजफ्ती गर्न सक्दैन।
हो! त्यो मञ्जरी
त्यही वृक्षको विस्तार हो
तर जीवनको होइन
सपनाको होइन
ऊ पृथक् छ, स्वच्छन्द छ
आफ्नै अस्तित्व लिएर आएको छ
छुट्टै अस्तित्व लिएर उभिएको छ।
अनि एउटा वृक्षले
आफ्नो मञ्जरीलाई
“आफू” हुनु दिन नै
निःस्वार्थ प्रेम हो
अनि एउटा मञ्जरी
आफ्ना जराहरूमा उभिन सक्नु
वृक्षको सार्थकता हो।
तसर्थ
ए बाउ !
म तिम्रो सपना पूरा गर्ने छैन।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

