आज, फेरि जीवनले यु–टर्न लिन खोज्दा
मेरा स्मृतिको बन्दरगाहमा
समयले मेरा झोलीमा भरिदिएका
अनुभवहरूको छयालब्याल पोकाहरू छचल्किन्छन्
र,
तरङ्गित हुन्छन् मेरा अतितका अनाडी यादहरू

कयौँ हिँउद र बर्खाको तुँवालोमा
निस्तेज मेरा आँखा वरिपरि
सेतै फुलेकी हजुरआमाको चाउरिएर झोलिएको अनुहार सल्बलाउँछ
चुलोको छेउमा बसेर
मेरो बाल चञ्चलता र उनको वृद्धहठ पौँठाजोरी खेल्छ
उनले मेरो कोमल गाला मुसार्दै कथ्ने
उनको दन्त्यकथाको वायुपंखी घोडाले उडान भर्दा
मेरो शैशवे कल्पनाले, उसपार
परी र अप्सराहरूको लोकमा ल्याण्ड गर्छ

मेरा हजुरबाबाको थरथर काम्ने हातहरूमा
कत्ताई फनफनी नाचेर तागाधारीको इज्जत बेरिँदा
मेरो बाल चञ्चलताले धागो चुँडालिदिँदा
उनका खस्रा दाह्रीहरूले मेरो कोमल छालामा चस्स बिझाउँछ

निष्कपट बाल सखाहरूको लुटपुट क्रीडामा
उध्रिएका मकैका घोगाका भव्य महलहरू
बन्छन-भत्किन्छन्, बन्छन-भत्किन्छन्
महलकै अशंबण्डामा मेरो जिद्दी बाल स्वभावले
आफैँलाई सखाहरूको “महाराज” घोषित गर्छ
जन्मसिद्ध पुरुष महत्त्वाकांक्षाले एक “महारानी”सँग स्वयम्वर गर्छ

द्वन्द्वविहीन मस्तिष्कको कुनै एक कुनामा
फगत एक मात्र चाहना लडीबुडी गर्छ
आमाको धोतीमा चढ्दै, को खाई ! को खाई ! मै खाई ! गर्छ
मेरा ‘बा’ को इस्टकोटको खल्ती लुछ्दै
मेरा चकचके कोमल पञ्जाहरूले च्यातच्यात गर्दा
मेरो अबोध दुधेओठहरूको मुस्कान ‘बा’ को आँखाको नानीमा प्रतिबिम्वित हुन्छ

परन्तु, आज समयले फेरि जीवनलाई,
असीमित असफल सपनाहरूको चट्टानमा पछार्दा, न्याँक्दा
उनै हजुरबाको थोते मुखबाट निस्केको
द्वापरयुगको अस्वस्थामाको स्वरुपको साक्षात्कार गर्छ ।