शोभा लामिछाने
हो तर्सनुहुन्न र अल्झनुहुन्न
बिगार्नकै लागि उठेका
प्रभावशाली “धुन”हरूसँग
काट्नुस् ठीक छ काट्नुपर्छ
रिबन अनि केक पनि
मात्र धुजाधुजा नपार्नु
ती परिवर्तनका सपनाहरू
तपाईंसँग राखेका
जनताका आश भरोसाहरू
देशको उच्च जिम्मेवारी
निभाउने कसम खानेहरू
बस्नैपर्छ उच्च आसनमा
जो टक्रिन्छन् सम्मानमा
चढ्नुस् सवारी र पिर्काहरू
बरु नभुल्नु ती निकट अनि दूरमा
पसिना झार्दै गरेका श्रमिकका
नशा गुजुमुज्ज परेका पिडौँला
खोक्रो भोको पेट अनि तिर्खाहरू
भोकोपेट त तपाईं पनि
कसरी सक्नुहोला काम गर्न
लिनुस् भत्ता, पारिश्रमिक बढाइ
सामाजिक प्राणी भएपछि
एक दुई आफन्त, आसेपासे
जागिरमा पनि गर्नुस् भर्ना
बस्, आफूलाई पुगेपछि
नलुकाउनु बरु लुटेर
राष्ट्रको ढुकुटी
कुनै विदेशी बैंक
वा कतै सुरुङ खनेर
हाम्रो सरकार, हे मसिहा
बिरामी नपर्नुस्
जुनै देशमा उपचार गर्नुस्
तर स्वस्थ्य हुनुस्
शारीरिक मात्रै हैन
आध्यात्मिक पनि
तर, पुर्याइदिनु
गाउँमा गुणस्तरीय
सिटामोल र जीवनजल
र शहरमा रोकिदिनु
उपचार नै नभएका
रोगको निदान गर्दागर्दै
घरखेत बेच्न बाध्य बनाउने
अस्पतालको “लुट”।
हाम्रा माननीयज्यू
अभिमान गर्न पाउँ
हाम्रो मानप्रति
कोही मानिस त
साँच्चै असल हुन्छन्
विश्वास गर्ने
आधार बनाउँ
सम्याउनु पर्दैन
सगरमाथा भत्काएर
काम देखाउने निहुँमा
प्रकृतिलाई उधिनेर
वा लत्याएर
बस्, मानव-मानवबीच
गरिदिनु समान न्याय ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।