जगत् प्रसाद लम्साल
कमरेड तिमी त रातो रङसँग खेल्ने मान्छे
२००७ मा पनि रातो रगतमै खेल्यौ
२०४७ मा पनि खेल्यौ
२०६३ मा पनि खेल्यौ
कमरेड तिमी रातो रङसँग खेल्ने मान्छे
रातो रङ देख्दा लाग्छ होला म विजय भएर आइसकेँ
हो कमरेड, तिमी विजयी भइसक्यौ
आमाको रातो रगतको डल्लाबाट फुट्दा तिमी विजयी भइसक्यौ
बाबाको हातको औँला च्यात्तिँदा पनि जुट्दा तिमी विजयी भइसक्यौ
आमाको गर्भमा धारण भई तिमीले हानेका लातले पेटका नसा चुट्दा तिमी विजयी भइसक्यौ
बाबाले भारी फाली एउटा गाँस निल्न नसकी हिक्का छुट्दा तिमी विजयी भइसक्यौ
हो कमरेड, तिमी विजयी भइसक्यौ
कमरेड ! कलिला नानीहरूका छातीमा ती बडेमान हात पर्दा
महिनावारी पनि नभएकी ती नानीको योनाङ्गमा पापी पिपासु जोतिँदा त
पनि रातै रङ बग्छ होला
त्यतिबेला ती तिम्रा छाती गर्वले फुल्छन् होला है
किनकि तिमीलाई लाग्छ
रातो रङ देख्दा म विजयी भएर आइसकेँ
रातो रङ तिम्रो लागि शुभ रहेछ कमरेड !
रातो कार, रातो गम्छा अनि रातै गाडीको नं प्लेट
तर एकपटक सोच त
तिम्री जेठी छोरी पहिलोपल्ट महिनावारी हुँदा बगेको रगत देख्दा झम्टिन गएको
तिम्री अर्धाङ्गिनीलाई क्षय भई मुखबाट रगत छाद्दा आत्तिएको
ह्या कस्तो बोरिङ सम्झना
किनकि तिमीलाई लाग्छ
रातो रङ देख्दा म विजयी भएर आइसकेँ
कमरेड तिमी कुल भएर सोच त
तिम्रो छोरो अग्लो भवनबाट लडी रक्ताम्मे भएको
तिम्री छोरीलाई ती बलात्कारी ब्वाँसाहरूले रक्तामे पारी चिथोरिरहेको
सोच्यौ हैन
अब तिम्लाई लाग्नेछ कमरेड
रातो रगत देख्दा म हारिरहेको छु
नियमित हारिरहेको छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।