कञ्चन बस्नेत

एउटा बूढो लाइब्रेरी
उँघिरहेको छ
लाइब्रेरियनजस्तै।

शायद स्वघोषित गरिसकेको छ आफूलाई
संसारको सबभन्दा शान्त ठाउँ भनेर।

कयौं समयदेखि स्पर्श नपाएका
किताबहरू विरक्तिएर टोलाइरहेका छन्।

थोत्रिएका पानाहरू
अनौठो गन्ध फैलाएर
देखाइरहेछन् आफ्ना नियति।

प्रेमीले प्रेयसीलाई उपहार दिएझैं
समयले लाइब्रेरीको हातमा थमाइदिएको छ-
पुराना यादहरूको संस्मरण संग्रह
त्यही सङ्ग्रहका पाना दोहोर्याई तेहोर्याई पढेर
समय कटाइरहेको छ लाइब्रेरी।

आजभोलि लाइब्रेरीमा आक्कल्झुक्कल
मान्छेहरू आउँछन् –
निवेदन लेख्न
फर्म भर्न
यदाकदा इन्टरनेट चलाउन
झोक्राइबस्ने लाइब्रेरी बेलाबेला झस्किँदो हो
आफ्नो भूमिका फेरिएको देखेर।

संसारले आफ्नो नयाँ नयाँ संस्करण
देखाइरहँदा लाइब्रेरी भने
आफ्नो प्रथम संस्करणमै अड्की बसेको छ।

फड्को मार्न सक्ने भए अक्षरहरू
भूगोलको फन्को मारेर
आफ्ना व्यथा सुनाउँथे होलान्
विसर्जन गर्थे होलान्
आफ्ना गरुङ्गो रिक्तता

म छक्क परेको छु
आफ्नै आँखाको छायाँमुनि हुर्किएका
असंख्य शोधपत्रहरू
आफ्नै हालतको सोधखोज गर्नु नआउँदा
दुनियासँग प्रतिशोध लिनु मन लाग्ला कि नलाग्ला?

अनि
कुनै बेला यही टेबल र कुर्सीहरूका
माझबाट भरभराउँथ्यो
क्रान्तिको रापिलो ज्वाला
अचेल ती ज्वालाका फोसिलमाथि
पत्रपत्र धुलो थकाई मारिरहेका देखिन्छन्

यसरी
लाइब्रेरीहरू आफ्नो हंश थामेर
शून्यताबाट चिहाइरहेछन्… ।