Chovar Blues Mobile Size

सुरेन्द्र गौतम

हे मानव ! कति गर्छौ लोभ अझै यहाँ सृष्टि यो मुर्झायो,
असन्तोषी द्रव्यप्यासी कुलकन भनी लाज पनि लजायो ।
त्यो स्वच्छ जलमा त्यो शुद्ध वायुमा दुर्गन्ध को फैलायो
जगत् प्रेम त्यो श्रेष्ठ शीरमा के गरी ओइलायो ।। (१)

यो कस्तो नशा समृद्धिको ? के चाह मानवको ?
कस्तो भोगचलन ? के सन्तुष्टि अहं र तनावको
कुन प्राण ‘रत्न’ ? कुन स्वास ‘हीन’ ? स्वामित्व कस्को ?
कहाँ छ सन्धि, कता छ सुक्ति जगत् हर्ने नियमको ??(२)

सृष्टि यो मानव एक्लैले चल्छ ? कुन सोच देखायौ ?
अस्तित्व यो मानवको अविजित छ भन्ने के विवेक चलायौ ?
हुँदैन सत्ता कायम उडेर आकाशगंगा निहारी
घर पोलेर पाएको सत्तै पनि कहिल्यै बन्दैन छहारी ।।। (३)

जगत चक्र विपत्तिको आहतले मुर्झाउँदै छ बेसरी
रोगव्याधिले उछित्तो काढ्दै छ मनुष्यको यदुनाश जसरी
के लियौ के पायौ त्यो घमण्डले दौलतै थुपारेर
अन्तेष्टि यहाँ संस्कारै बिनाको जीवाणुले लघारेर ।।।। (४)

न आफ्ना आए, न धनले बोक्यो अन्तमा पार्थिव शरीर
घाटै पनि यहाँ सशंकित बन्यो यत्रतत्र लाश देखेर
मैँ नायक ! मैँ शासक ! मैँ सर्वश्रेष्ठ भन्नेहरूको हुंकार ढल्यो,
न विज्ञान– न उद्योग– न त आधुनिक ओखतिको डेग चल्यो ।।।।।(५)