चौकामा राखेका रित्तो भाँडाकुँडा र चिसो चुल्होले
गिज्याउँदै मतिर हेर्न थाले भने
एकमुठी जाउलोको आशामा
कयौँ पटक सूर्यले उदाउँदै अस्ताउँदै गर्दा
मेरो खाली पेटमा कुनै
सूक्ष्म जीवाणु ताण्डव गर्न थाले भने
मैले त जसोतसो सहुँला
तर यो भर्खरै माम भन्न सिकेको
कोखाइ कोखाइ गराएर दुई चम्चा माड निल्न
सक्ने भएको मेरो छोरो
उसलाइ के भनेर सम्झाउँला ?
मैले दैनिक न बलेको चुल्होतिरै देखाउनु कि ?
वा फेरि कसौडिमा एक मुठी चामलमा
दुई मानो पानी राखेर देखाउँनु ?
कि उसकी हजुरआमाले म नहुँदा
उसलाई सुताउन आफ्ना हातका बुढी औला चुसाए झैँ
उसलाई सुताउन आज फेरि औलानै चुसाउँला ?
मैले त जसोतसो सहुँला
भन्नेले त भन्छन नि ! अँ भन्नेले त भन्छन नि
दाल, चामल, नुन, तेल घरघरमै छ भनेर तर
पसल नपुग्दै वरैबाट मेरो खल्तीको पैसा
डरायो भने ?
मैले वर्षौं लगाएर जोगाएको मेरो अस्तित्वको धरोहर
नै हरायो भने ?
मैले त जसोतसो सहुँला
तर यो भर्खरै ताते ताते गराउँदा दुई पाइला चाल्न सकेको मेरो छोरो
उसलाई कसरी सम्झाउँला ?
मैले दिनौदेखी नखाएको मलिन अनुहार
देखाउनु कि
या फेरि
मलिनतालाई लुकाउदै फुस्रो हाँसो देखाउनु ?
कि म नहुँदा ऊ रोयो भने
उसलाई हँसाउन
उसको बाबाले आफ्ना दाह्रीले उसको कलिलो
गालामा काउकुती लाइदिए झैँ
अहिले फुल्याउन काउकुतिनै लगाउनु ?
तर
यसपटक
उसका कलेटी परेका ओठले मेरा औँला च्याप्न
सकेनन भने
काउकुती लाउदा खित्का छोडेर हाँस्ने मेरो
छोरो
काउकुती पनि
अल्झो लागेर मौन रह्यो भने
कसो गर्नु नि ! मैले ?
साँच्चै कसो गर्नु नि ! मैले ?