संगम संगीत
मैले
मन्दिर बनाएँ
भगवानको मुर्ति बनाएँ
सबै पुजिए
मलाई भने
छिः छिः र दुरदुर गर्दै
तिमीले
त्यहाँ छिर्नसम्म त के
ढोकाबाट धेरै पर
बस्नसम्म दिएनौ
हतियार बनाए
तिम्रो घरभित्र भान्सा
चुलोचौकोसम्म पुग्यो
त्यो छुत भयो, म अछुत गनिएँ
मैले सिलाएको कपडा
तिम्रो कुल, देवता, पितृ, भण्डार
सबैतिर चल्यो
म अछुत भएँ
मैले बनाएका
गरगहना लगाएर
चिटिक्क परेर सजिँदा
आफू महान् कहलिँदा
तिम्रो स्वाभिमान
सगरमाथा जत्तिकै
उच्च भयो होला
तर मलाई भने
उठ्न र उच्च हुन नदिई
थिचिरह्यौ।
धारो मैले बनाएँ
तर पर बसेर
तिमीले थापेपछि मात्र
गाग्री भर्नु पर्यो मैले
कयौं पटक
पहिला गाग्री भर्दा
तिमीबाट
पानी मिल्क्याइयो
भाँडा-बर्तन मिल्क्याइए
विवाह
ब्रतबन्ध
गुन्युचोलीमा
मेरो दक्षिणा चल्यो
तर टीका चलेन
मेरो काम चल्यो
तर भान्सा चलेन
तिम्रो कुकुरले सिनो खाँदा
चुलामै लगेर
भान्सा गराउँछौ
अनि भन्छौ त अछुत
भित्र छिर्न हुन्न
सँगै बसेर खान हुन्न
एकाबिहानै
घर टेक्न हुन्न
पोहोर
क्षेत्री साइँलोलाई
मर्ने बेला
कसैले रगत नदिँदा
मेरै रगतबाट
बाँचेको थियो
साँच्चै
छेत्री साइँलोको रगतमा
मेरो रगत मिसिँदा
ऊ अछुत भयो कि छुत भयो ?
अस्ति
बाहुन कान्छो
अकस्मात
बेहोस भएर
पानी पानी भन्दा
दिने कोही नहुँदा
मैले एक गिलास
पानी पिलाएर बचाएको
मलाई
जात, धर्मका आधारमा
तिमीले अछुत भन्यौ
मैले सिलाएका कपडाबाट
तिम्रो आङ ढाकिएको छ
नत्र तिमी नाङ्गै हुन्थ्यौ
मैले मन्दिर बनाएँ
तिमीले वर माग्दै
भाकल गरी
पूजा गर्यौ
मैले तिम्रो लागि
के के गरिनँ ?
मर्न लागेकालाई
जीवन दिएँ
स्वास दिएँ
सम्मान दिएँ
त्यसको बदलामा
मैले पाएँ त केवल
अपमान, अनादर र
दलित, अछुतको दर्जा
पूजा, विवाह, ब्रतबन्धमा
छिमेकी
बाहुन
क्षेत्री
जनजाति
सबै डाकिँदा
म डाकिन्नँ
मलाई खान
बोलाएनौ भनेर
गुनासो होइन
छिमेकीलाई निम्तो गर्दा
म अछुत सम्झेर छुटायौ
मैले कहिल्यै तिमीलाई
कुनै कार्जेमा छुट्टयाइनँ
तर तिमी भने
बदलामा
जहिल्यै छुत कहलिएर
मलाई
अछुत भनी रह्यौ
अपमान गरिरह्यौ
विभेदको पर्खाल र
सिमाना कोरिरह्यौ
शिक्षक श्री जनता प्राथमिक विद्यालय
महालक्ष्मी न.पा-४ चानुवा, धनकुटा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।