यम रेग्मी

म रातलाई हुन रात दिन्नँ
र पीरलाई छुन भीर दिन्नँ
मिच्दै अँध्यारो मन धाइदिन्छु
बेचैन बेच्दै सुख शान्ति किन्छु ।

हुँ अल्पयात्री छ अनन्त लोक
बेदाग बाँचू अरु छैन भोक
हूँ वृक्ष राम्रो फल हो सुकर्म
आलोक छर्दै मन लाग्छ मर्न ।

छु शान्त ध्यानि हिमशैलजस्तै
छु कर्मवादी सरिता दुरुस्तै
हावाहुरीझैँ मति उग्र छैन
हुन् बुद्ध साथी मन स्याल छैन ।

निर्भीकतामा दुःख चोट हुन्न
छु प्रष्टवादी छलछाम छुन्न
समताको म हुँ दिव्य अस्त्र
प्रशन्नताको छ सुधा मभित्र ।

सहन्छु वर्षा रजनी कुटाई
सहन्छु आँधीसितको फुकाई
सीता परीक्षा लिन जानुपर्छ
मर्दा चिताको सब खानुपर्छ ।

छन् चोट लाखौँ दिलमा बसेका
रहेछु हाँसी गह छन् बगेका
काडाँविनाको छ कहाँ गुलाफ ?
सामर्थ्य बाचूँ तर छैन खेद ।

रहस्यताको भरिपूर्ण खानी
अखण्डताको बलियो निशानी
अनन्तताको नभको हुँ रूप
हुँ दीप फाल्छू जगका कुरुप ।