Chovar Blues Mobile Size

अङ्गीरा खण्डः ९

एउटी किशोरी
बलात्कारको अघोर आर्तनाद लिएर
तिरस्कारको जर्जर हृदय बोकेर
पराजयको असीम ताडनाले
पासो बुनेर
आत्महत्याको अथाह अन्धकारमा लुप्त भइ
त्यो अँध्यारोभित्र
भिलोरको रूख लाजले नुहियो
त्यही जङ्गल साक्षी थियो बलात्कारको
त्यही जङ्गल साक्षी बस्यो मृत्युको ।

ज्योति जङ्गल

देवदहको सभ्यता
मानव अनुहारमा कालो धब्बा दलेर विरुप भयो
जूनले खसाएको दुई थोपा आँसु बोकेर
रोहिणी नदी चुपचाप बगिरही
जसरी आदिमकालदेखि बगिरहेकी थिई
रोहिणी नदी आँखा हेरीहेरी बगिरही
जसरी आदिमकालदेखि हेरिरहेकी थिई
के यो सबै बुद्ध कतैबाट हेरिरहेका थिए ?
के बुद्ध कतैबाट अझै हेरिरहेका छन् ?