Chovar Blues Mobile Size

अनाथ अङ्कल

मृत पहाड
शून्यतामा झरीको आवाजझैँ
हावाको पिसाईले खुम्चिंदै
प्रताडनाले चिच्याउँदै
फेदीबाट रसाउन थाल्छ
अमृतको वर्षा
अन्जुलिमा भर्न नसकेर
अभिमानको उचाई निचोर्दै
तलाउमा खसाउन थाल्छ।

पहाड अहंकारमा रित्तिदै
अमृत धारा निष्कर्षमा समेटेर
खाली मैदानमा झिल
ज्ञानको सानो सागर
गोधुलीमा ज्योतिझैँ
प्रेमले परेली झिम्काउन थाल्दछ
माथि सकिनु
अभिमानमा मेटिनु
आफूलाई खालि गर्नु
मात्र रहस्य !

अहो ! मात्र ज्ञान
सकिनु नभएर भरिनु
ओइलाउनु नभएर फुल्नु
ब्रह्मजीवलाई
विरोधाभाषले सम्झाउँदै
इशाराले बोलाउन थाल्दछ।

अहंकारको अग्लो पहाड
आफू खाली भएर
धमिलो भेल र मूल डोर्याउँदै
तलाउ र खोलामा ज्ञान निखारेझैँ
सम्पूर्ण सृष्टि धारण गरेको विशाल शिल
सागरमा लगेर मिलाउँछ
खालि हुनु भरिनुको अन्तर-विरोधमा
समयको बहावमा फेरिँदै
आफूलाई अज्ञात गन्तब्यतिर
ऊर्जाले निरन्तर चलाइरहन्छ
समुद्रले बादल बनेर
पहाडभरि
चाहे ती नाङ्गा किन नहुन्
वा हरिया वृक्षलतामय रहून्
थोपा थोपाबाट गलाई दिन्छ
विराटतामा गहनताले
सागरलाई नुघाई दिन्छ
विनयशीलताको प्रेमले
नदी, झरना र नाली
एउटै आँगनमा सुकाएर
पवनको देशमा
पवित्र कोशेली बनाई पठाइदिन्छ।

अहा ! ब्रह्म रीत !!
ब्याप्त ऊर्जा र गतिशीलता
खालिभित्र पूर्णता
पूर्णताभित्र रिक्तता !
कला ! सागर कला !!
शील ! तपस्या शील !
अहा ! ब्रह्म चक्र !
जति तल उति गहन
जति गहन उति विशाल
जति विशाल उति विनयी
जति विनयी उति ज्ञानी
जति ज्ञानी उति समर्पित !
सागर !
समर्पणमा सागर
ग्रहण कलामा सागर
वाष्प कलामा सागर
वर्षातमा सागर
चोटीभन्दा माथि
वाष्प बनेर सागर
बादल बनेर
सुमेरु पर्वतमाथि सागर
सागर कला नभएर के हो त ?

वर्षातमा थोपा
खोंचमा पसिना
ओरालीमा झरना
खाडलमा तलाउ
मिलनमा नदी
योग्यतामा महासागर
रुपान्तरणमा वाष्प सागर
जलचक्र ब्रह्म कला नभएर के हो त ?

जो माथि आवाज र गड्गडाहट
जति तल उति शान्त
जो सबैभन्दा माथि ऊ आक्रान्त
जो समानतामा बसेको छ ऊ शान्त
भोगको दरबारभन्दा
त्यागको बुद्ध शील
चाहनाको ऊर्जा
अज्ञात जोतिर्मय यात्रामा
सुस्केराहरूको कोलाहलले
एकदिन थकाई मेट्छ
हो त्यहीँबाट
हो त्यही समयको विरोधाभाषमा
जलचक्र, ब्रह्मचक्र बन्दछ
हामी अलमलिन्छौँ
अन्तिम विश्रान्तिको भ्रमले
हामी भ्रमित हुन्छौँ।

कहाँ छ व्रह्माण्डमा विश्राम
हिजोको पानी
देखेको ठाउँमा अहिले कहाँ छ ?
सुतेको बिरामीको चाल
समुद्रको छालझैँ
चलायमान छ सबैतिर
बिहानीको सूर्य उस्तै देखिए पनि
उही ऊर्जाको प्रकाश कहाँ छ ?
ब्रह्मशील
प्रकृति कला
समुद्र विनयी
सबैभन्दा निम्न स्थान
जहाँ पुग्नका लागि खोला कुद्छन्
जसलाई चुम्नको लागि नदी बहन्छिन्
विनयिताको पराकाष्टा
ज्ञानको शितलाकार
सत्यको अनुभव
रुपान्तरणको प्रथम चरण !
प्रेमको अभ्युदय
प्रेम भावना
प्रेम वाष्प
प्रेम समर्पण
त्यहीँबाट शुरु हुन्छ आकाशतर्फको यात्रा
भावमा भावना बनेर
खालीमा भारी बनेर
शुद्धतामा अमृत बनेर
मृत अस्थिझैं
त्यसपछिको अर्को अन्त्य हुँदैन
गन्तव्यको कुनै श्रव्य हुँदैन
जीवात्माको तस्बिर नभएझैँ
रुपान्तरणको कुनै दृश्य हुँदैन।

आऊ समाऊ तलतिरको यात्रा
अहमताको गद्दी त्याग र जमिनमा टेक
मिथक त्याग र मस्तिष्क रित्याऊ
गतिको पहिचानमा
एक तपस्वी बन
ऊर्जाको समर्पणमा समुद्र बन
समयको विरोधाभाषमा पृथ्वी बन
र अन्तमा, अहा ! ब्रह्म चक्र !
त्याग र अज्ञानी हुँदै
शीलको रहस्यमा डुब्दै
तपस्यामा बस
ज्ञानको विशालतामा बुद्ध बन !