सुरेन्द्र-शाही-गुलाब-कान्छो

स्वभाविक हो
पुराना याद आइरहनु
तड्पिनु, चिन्तित हुनु
र, धेरै सोचिरहनु ।

तै पनि सबै अतीतको
काल कोठरीमा जाकिएका
कैदी बन्दीहरूजस्तै
झल्को
याद
माया
तृष्णा
सम्झना आदिलाई
एक सपना सम्झिएर
बसिरहनुको विकल्प
सिवाय के नै रह्यो र !
यो उकुसमुकुस
यो कौतुहलता
यो छट्पटी पनि
बडो अजीबको हुँदोरहेछ ।

मन कहिल्यै पनि
सिन्धुजस्तो बन्नै सक्दैन
बनिरहन्छ त केवल
बर्खायमको खहरे भेल,
बाढी-पहिरोजस्तै
अमनचैन र शान्ति
अहँ, कतै भेटिएन
खै किन यो मन पनि
अतीततिरै फर्किन खोज्छ ?
तर
जसको सम्भावना निकै न्यून छ
जिन्दगी धेरैअगाडि बढिसक्यो
अतितलाई छोडी सकेर
बस्
अब वर्तमान जिउनु छ
भविष्य भेट्नु छ
जहाँ मेरो लक्ष्य
मलाई नै कुरिरहेको छ
ऊ भन्दै छ, अझै संघर्ष गर
मलाई पाउन त्यति सजिलो छैन
चाह्यो भने गाह्रो पनि छैन
तेरो जिन्दगीका
तमाम घुम्तीहरू
उकालीओरालीहरू
उर्वर हरियालीहरू
सुख्खा मरुभूमिहरू
साँघुरा खोंचहरू
फराकिला फाँटहरू
कैयौं पीडा र दु:खहरू
आदिआदिआदि सबै
यात्रामा सामेल होऊन्
जसले तँलाई
मसामु पुग्न
तेरो लक्ष्यसामु पुग्न
खुट्किलाको काम गरोस्
जस्तोसुकै कठिनाइमा हार नमान्नू
आँट गर्नु साहस गर्नु
अनि एक दिन पक्कै
त्यो सुनौलो दिन हुनेछ
जुन दिन लक्ष्यसँग भेट हुनेछ ।

सुरेन्द्र शाही ‘गुलाब कान्छो’
बाजुरा