तारा तिवारी

 

हवाई टिकट काट्दै गर्दा
गन्तव्यमै पुगेको आभास भयो
मलाई कुनै ढिला पुगिएला
जाममा परिन्छ कि, भन्ने पीर नै थिएन

म त चराझैँ उड्दै, कहीँ बादलभित्र त !
कहीँ मनोरम दृश्यमै मस्त थिए
र मजस्तै धेरै स्वदेशी र विदेशी
अनुहार पनि आनन्दित थिए

र, एक्कासि कतै नमीठो विक्षिप्त उराठलाग्दा
भावना मनमा उब्जिरहे
म आमालाई सम्झिँदै मनलाई
अन्त कतै मोड्न लागे

मलाई त के थाहा, मेरो मनसँगै
प्लेन पनि मोडिएको रहेछ
एकैछिनमा मसँगै सबै यात्रु
त्रास, भावविह्वल हुँदै थिए

कोही भगवान्, आमा-बाबा पुकार्दै गर्दा
बाँच्ने गुहार माग्दै थियौ
दैवको अघि के लाग्दोरहेछ र ?
केही क्षणमै प्राणहरू धुवाँसँगै
बादलसँग दोस्ती गाँसेको

सुन्ने, देख्नेलाई भन्दा पनि भोग्ने हामी
जलेको शरीरमै, बाँच्ने आश गर्दागर्दै
सेतीको खोँच, हाम्रा लागि गन्तव्य हुन पुग्यो
र जिन्दगीको पूर्णविराम लाग्यो

कयौँ सपना हाम्रा अनि परिवारका
जहाज टुक्रिएझैँ टुक्रियो
तड्पिएको तनले आगोका झिल्काको
मात्र साथ पायो
मन त पहिले नै उडिसकेको थियो
जब प्लेन मोडिदै जाँदा, धर्तिमाथि बजारियो

कतै डढेका त कतै टुक्रिएका शरीर
परिवारलाई आँसु र केही निशानी पहिचानमा छोड्दै
धुँवा बनेका सास र खरानी बनेका शरीर
प्रकृतिलाई नै उपहारस्वरुप छोडिदियौँ

आमा अर्को जन्म, त्यही कोखमा पूर्ण आयुसँगै जन्माइदेऊ
तिम्ले चाडको बेला कुरिरहँदा
तिम्लाई छिट्टै आउँछु भनी गरेको
वाचा, जो पूरा गर्नुछ ।