आजबाट
उसको बाँच्ने आयु एक वर्ष घट्यो
उसलाई बधाई दिने
मानिसहरूको खूब भीड छ घरमा

फूलहरूको चाङले
ऊ ढपक्क ढाकियो
केक पनि काटियो
धेरैले शुभकामना पनि दिए
असाध्यै खुसी छ
खुसी पनि किन नहोस्‌
आज उसको जन्मदिन पो हो त !

महेश्वर शर्मा

उसको जन्मदिनमा
हरेक वर्ष यस्तै हुन्छ
एक दिन
वृद्धाश्राममा रहेकी आमाले
छोरालाई सन्देश पठाइन्‌ र भनिन्‌
तिम्रो जन्म भएपछि
म आमा भएकी हुँ
मेरो बुहारी पनि कहिल्यै
वृद्धाश्राममा बस्न नपरोस्‌
तिमीलाई जन्मदिनको को धेरै शुभकामना ।

संवेदनाको आकारबाट साभार