पारिलो हिउँदे घाम तात्दै
मानेडाँडामा हामीले रोपेका सपनाका मृत अवशेषसँगै
जिन्दगीको दोबाटोमा, सँधै अन्तहीन प्रतिक्षा गरिरहेँ ।
वसन्तमा फूलहरूले लोभ्याइरहे
शरदमा जूनहरूले गिज्याइरहे
चैत्रमा धूपहरूले पोलिरहे
समयको निर्ममताले थिलथिलिएको म
फेरि पनि
जिन्दगीको दोबाटोमा अन्तहीन प्रतिक्षा गरिरहेँ ।
खरानी भइसकेका सपनाहरूमा, मायाको अंकुर खोज्दै
कुनै चत्मकारको आत्मरतिसँगै, जिन्दगीका खण्डहरहरूमा
तिनै इन्द्रधनुषी अतितको मृगतृष्णा बोकेर
फेरि पनि
जिन्दगीको दोबाटोमा अन्तहीन प्रतिक्षा गरिरहेँ ।
निरुद्देश्य जिन्दगीका धारहरूमा
लडखडाएका लाचार पाइलाहरूले
हरेक पल लडाउन खोजिरहेँ
अत्यासलाग्दो क्षितिजमा झझल्कोका
हजारौँ मुर्च्छनाहरूमा विक्षिप्त हुँदै
म जिन्दगी दोबाटोमा, अन्तहीन प्रतिक्षा गरिरहेँ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला