विष्णु न्यौपाने

विष्णु न्यौपाने

बान्की हो लय हो छन्द ढङ्ग हो छाँट छन्द हो
वृत्त हो वेद हो छन्द बद्धको पद्य छन्द हो
गतिको यतिको ख्याल मात्राको अनुप्रासको
गणना वर्णको गर्दा कर्म पुग्दछ काव्यको ।

भावयुक्त कलापूर्ण मूल्यवान विचारले
खारिँदा झरिला काव्य बन्न सक्छन् प्रयासले
खिरिला रसिला बान्की मिलेका काव्य सुन्दर
लाग्दछन् स्वर सङ्गीत मिले सुन्न मनोहर ।

सूत्रमा उनिँदा मात्रै दिँदैन भाव शव्दले
मिल्दैमा छन्दको माला लिँदैन लय काव्यले
रसलङ्कारमा खेलौँ बिम्बका छालमा बगौँ
नछोए धुन आत्माको लिँदैन गति काव्यले ।

छन्दको महिमा गाई भित्रभित्रै रमाउँछु
छन्दमै कविता लेखी लय हाली सुनाउँछु
छन्दका कविता कुँद्दा अलङ्कार लगाउँछु
एघारै रसका धारा भित्रभित्रै बगाउँछु ।

लक्षणा व्यञ्जना बोधी शव्दमा लय भर्दछु
भावमा हास्य शृङ्गार रसले शान्ति छर्दछु
करुणा कण चाहिन्न वीरको हुँ म सावक
विभत्स भयका खेती गर्न तम्सिन्न नायक ।

छन्द मादलमा देख्छु सारङ्गीभित्र देख्दछु
झरनाभित्र चम्केको दृश्यमा छन्द देख्तछु
मृगका नाभीमा छन्द आँखामा छन्द छन् कयौँ
बजेका बाँसुरी भित्र बाँसमा छन्द छन् सयौँ ।

छन्दले रचनालाई रङ्ग रूप दिलाउँछन्
छन्दले कवितालाई प्यासयुक्त गराउँछन्
काव्यको मूल हो छन्द लाग्नुपर्छ बचाउन
दुःखीको दुःख विर्साई थाल्छ छन्द हँसाउन ।

छन्दभित्र रहेको छ दिव्य अमृतको गुण
छुट्याएर सिकौँ हेर्न बज्न थाल्छन् नयाँ धुन
छन्दमै विश्व ब्रम्हाण्ड घुम्छ नित्य जगत् सुन
नबुझी महिमा केही गर्छौ विरोध चैँ किन ?

(छन्दः अनुष्टुप्)