सुनकोशीको पानीले निर्मल बनाएर
देह र आत्मा
खोपेका थियौं हामीले चट्टानमा
एक अर्काका नाम
अनि
पैतालाको डोब बनाउँदै
तातो बालुवामा हिँडेका थियौ
बगरको बाटो
जहाँ हिँडेका थिए होलान्
असंख्य पाइलाहरू
नवीन यात्रा,
नवीन संकल्प,
नवीन उत्साह भरिएर
वचनका कवचले सुरक्षित बनाएर प्रेम सम्बन्ध
सुनकोशीको कलकल संगीतमा विभोर हुँदै
फुकेका थिए होलान्, प्रेमको बाँसुरी
भरेका थिए होलान् जीवनमा संगीतको धुन
पोतेका थिए होलान् अनुहारमा गुराँसका रंग
ओ प्रिय..!!!
उचालेर फूलको थुंगा जसरी म भित्रको संसार
तिमीले त्यसदिन जितेका थियौ एउटा प्रेम युद्ध
त्यही दिनदेखि मैले बिर्सेकी थिएँ
स्वरंग..!
घर फर्कने बाटो..!
टेकेको धरातल..!
बाँचेको समय…!
र सुनकोशीझैं तिमीमा समाहित भएर
अविरल बगिरहेँ
लाग्यो बग्नु जीवन हो
सङ्लनु जीवन हो
संगीतमय हुनु जीवन हो
समाहित हुनु जीवन हो
तर होइन रहेछ
प्रेमको शाश्वत अर्थ
कुनै ताजमहलमा रहेन छ
रोमियो जुलिएटमा रहेन छ
सिरि र फरियादमा रहेन छ
लैला मजनुमा रहेन छ
प्रेम कहाँ छ ?
यहाँ त प्रेमको समर छ
सदियौदेखि चलिरहेको छ प्रेमको समर
मिलन, बिछोड
वियोगान्त, संयोगान्त
हार र जित!!
शब्दका अनेक शस्त्रअस्त्रको प्रयोग गरेर
प्राप्त गरिन्छ प्रेमको राज्य
र फेरि अर्को राज्यको तयारीमा निस्किन्छ मान्छे
अनेकौ हाउभाउ र कटाक्षको अस्त्र बोकेर
ओ, कृष्ण, अर्को विश्वयुद्ध नहुने घोषणा गरेका हैनौ तिमीले ? साँच्चै
यी आँखाले तिमीलाई अघाउन्जेल हेर्न पाएकै थिइन
छातीमा शिर राखेर मनभरी निदाउन पाएकै थिइन
तिमी फेरि अर्को समरको तयारीमा छौ
तिखार्दै छौ भ्रमका औजारहरू
जसरी तिखारेका थियौ
सुनकोशीको बगरमा चुमेर मेरा पैताला
बनाउँदैछौ योजनाहरू
जसरी खोपेका थियौ चट्टानमा मेरो नाम
ओ कृष्ण
चलाउ तिम्रो सुदर्शन चक्र पहिला म माथि
वा, म दिनेछु शिर, बर्बरिकले जसरी
सक्छौभने
झुन्डयाइदिनु मेरो शिर रणआकाशमा
अबको तिम्रो प्रेम समर
म बर्बरिक दृष्टिले हेरिरहेको हुनेछु
तिम्रो लिलामय क्रूरता
र भोगिरहेको हुनेछु एउटा प्रेम सजाय !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।