मनोज विष्ट
म पराभुत भएको बालक हुँ
म परिक्षिप्त भएको बालक हुँ
म छोडिएको टुहुरो हुँ
निरस्त बालक हुँ
तेतिबेला, तेतिबेला
मेरो घाँटी च्यापिएको थियो रे
बाँसको घारीमा फालिएको थियो रे
अफसोच
गैराघरे माइली आमाले घाँस काट्दै गर्दा
भेट्टाएकी रे मलाई
कुन्नी ? कसरी ? खै ?
यता पो आइपुगेछु
मेरो गल्लीको बास
बोराको डसना
तिनीहरूले फालेको खाना
बटुल्दै, खाँदै बाँचिरहेको छु
लखेट्छन्, आयो खाते भन्छन्
मेरो पनि त मन छ नि
म पनि त बुझ्छु नि
किन गर्दा हुन् खेदो?
किन लखेट्दा हुन् मलाई ?
मौसम जाडो अनि मौसम गर्मी
न त लाउने, न त ओढ्ने
विचरा म
दुईवटा बोरा ओढेको
बल्ल न्यानो
त्यो लिँडे, छुचो
धकेल्छ, खाली पिट्छ, ठेल्छ
भेट्टाएको पाउरोटी
सधैँ खोसिदिन्छ
आफैँभित्र अन्तरसंघर्ष
लाग्छ मलाई, सोच्दछु
फ्रान्सको राज्यक्रान्ति
यही भैरहेको छ
लिँडे जोधाहा, म त निम्छरो
म खाजाहा हुँ
दर्दनाक, पीडादायी, आर्तनाद
बिघात छ, जताततै
कताकता सुन्दछु
स्वास्थ्य, शिक्षा, निःशुल्क
सबैका लागि
अनगिन्ति संघसंगठन
दिनहुँ देख्छन हामीलाई
फोटो खिचेर
कति लान्छन् ? कहाँ लान्छन् ?
कुन्नी ? के थाहा हामीलाई ?
द्रिग्गोचरबाट स्कुले साथीहरू
मेरै उमेरका
गेटको सानो विवरबाट
चिहाइरहेको छु
हेरिरहेको छु
भित्रैबाट लाग्छ
छुन पुस्तक, अनि बोक्न झोला
तर असम्भव
किनकि म खाते हुँ
सेतो पहिरनमा
अकस्मात, सवारी हुन्छ उनको
कफिनको चाबी खोलिन्छ
वा स्वतन्त्र अनि शुद्ध बालक म
नतमस्तक छु
खेलेको हुन्छु
उनै स्कुलेहरूसँग
पढेको हुन्छु
चार घेराभित्रै हुन्छु
झस्याङ्ग
बिउँझन्छु
म त उही बोरामै हुन्छु
किनकि म साँच्चिकै खाते हुँ
हामी अनगिन्ती छौँ
हरेक शहरमा छौँ
बिना संघ अनि संगठन
अनि कसले सुन्ने ?
हाम्रो चित्कार
तर आशा छ, सम्भव छ
आजैबाट, यहीँबाट शुरुवात हुने छ
यहीँबाट बाल बचाउ हुनेछ
यहीँबाट बाल संरक्षण हुनेछ
यहीँबाट बाल विकास हुनेछ
यहीँबाट बाल समानता हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।