गोविन्दगोपाल खतिवडा

 

समाधान कहाँ होला समस्या तगडा पर्‍यो
बिहानैदेखि भान्छामा असाध्यै झगडा पर्‍यो

यता कुकर चम्किन्छ, सिट्ठी हान्दै रिसाउँछ
गुनासो दूधको खाली पानी मात्रै मिसाउँछ
प्रश्न गर्दछ खुर्सानी कसरी म पिरो भएँ ?
कसैले टोक्न सक्दैन त्यसैले म हिरो भएँ

पुड्को ज्यान बटारेर धाक दिन्छ सिलिन्डर
मैले ग्याँस नछोडेमा कहाँ भोजन पाक्छ र
चम्चाले भन्छ सत्तामा मेरो पो अधिकार छ
जिउ हेर नपत्याए कस्तो लचकदार छ

तोरीको तेलले भन्छ पेलिएर म जन्मिएँ
अहिले पो भएँ लेदो, पहिले क्या कडा थिएँ
घिउले भन्छ ए तोरी ! आफ्नै भजन गाउँछौँ !
म महङ्गो, तिमी सस्तो केको धाक लगाउँछौ ?

नूनले भन्छ ए लाटा ! इन्डियामा म जन्मिएँ
समुद्र घर हो मेरो, त्यसैले म ठूलो भएँ
मसला भन्छ ए साला ! केको गर्छौ चुरीफुरी
मेरै पावरले गर्दा मीठो बन्दछ तन्दुरी

जता जान्छु त्यतै मिल्छु, कहाँ के भन्नुपर्दछ ?
आलुको माग छुट्टै छ म मन्त्री बन्नुपर्दछ
डाँठ मात्रै लुकाएर देखाई रसिलोपन
काउलीले गरेकी छे यता अङ्गप्रदर्शन

सेलरोटी यता चम्क्यो, किन पार्‍यौ ममा दुलो ?
फुरौलाको गुनासो छ म बन्छु कहिले ठूलो
चियापत्ती रिसाएर चिनीलाई कराउँछ
डराएको चिनी फेरि चियाभित्रै हराउँछ

खिचडीले गरेको छ यता शक्ति प्रदर्शन
दाल-चामलले गर्छन् मभित्रै गठबन्धन
म थोरै राखिएँ भन्दै धनिया बर्बराउँछे
किन मोटी भनिस् भन्दै यता फर्सी कराउँछे

पाहुना आउँदा पानी थपेको दालझैँ भयो
अचम्मै लाग्छ, यो भान्छा मेरो नेपालझैँ भयो