
दीपेन्द्र आचार्य
बङ्गालको खाडीको मुखैमा
मेरो नामको माटो छ
न्युमोर टापु !
आज पनि बग्दैछ
हजारौं कण मेरा माटोहरू
दक्षिणतिर
गुरुजी !
कहिले कहिले रोक्ने हाम्रो बहाव ।
मेरो देशको एउटा अङ्गमा
प्यारासिटामोल नपुगेर थलिएकोछु म
मेरो देशको एउटी आमा
प्रशव पीडामा उपचार नपाई बितिन् रे !
दिल्ली, अमेरिका र चीनहरूले
उपचार पुर्याउन नसकेको
तिम्रो त्यो बिराम
कहिले निको होला गुरुजी ?
मेरो देशको एक हुल भविष्य
आज पनि तुइन तरेर
रित्तो झोला काँधमा भिरेर
विद्यालय पुग्छन्
तिमीलाई गुरुजी बनाउन
मतपत्र छाप्न भ्याउनेले
गुरुजी !
समयमै पुस्तक कहिले छाप्छ ?
साउनमा जसरी खेत हिलै हुन्छ
उसरी नै हिलै हुन्छ कृषकको आँखा
मलको अभावमा
निर्मला पन्तहरू बलात्कृत हुन्छन्
अनि मारिन्छन्
दाइजो नल्याएकै निउँमा
मारिन्छन् बुहारीहरू भित्रभित्रै
अनि तिमी नि गुरुजी !
विभिन्न रङको झण्डा बाँडी
मलाई राष्ट्रिय झण्डा
चिन्न नै दिँदैनौ
दुबई, कतार र अस्ट्रेलियाको
रङ्गीन सपना देखाई
मेरो देशको विपना
भोग्न नै दिँदैनौ
हो त गुरुजी !
मेरो बा
मेरो देशमा बितेको दिन
विदेशमा मैले
ओभरटाइम समेत गरेको थिएँ
कात्रो किन्नलाई नि गुरुजी !
सूर्योदय न पा २, इलाम



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ कार्तिक २०८२, शुक्रबार 








