

खुपेन सुनुवार
अँध्यारो कोठाभित्र
घिप धिप बलिरहेको मैनझैं
म अग्लिन खोज्छु आफ्नै लघुताबाट
महत्त्वाकांक्षी मनबाट उम्लिएका चरम चाहनाहरू
निल्छु, ओकल्छु — जस्ले पोल्छ मेरा आँखाहरू
बन्द कोठाभित्र थुनिएका आवाज
जो अल्झिरहन्छ हरबखत बार्दलीमा
आकार कोरिएका छन् भाषा र अक्षर बनेर
झ्यालको नुहारले घृणाको तीर फाल्छ मतिर
तिमीहरू भन्छौ
त्यो अनुपयोगी भद्दा फुटेको भाँडो
जो जरैबाट सुकेको छ
त्यसको हाँगामा कुनै पालुवा छैन
जस्को नशा नलीमा बग्दछ जलक्रीडा
ती सुकेका हाडहरूमा आशक्ति छ
र कंक्रिटझैं असंवेदनशील छ हृदय
त्यस बन्दकोठाको भित्ता भित्ता भन्दछ
त्यो नकाबधारी पाखण्डी हो
त्यो दयाहीन ग्रसित दीर्घरोगी हो
त्यो गतिहीन भाँचिरहेको उष्ण किरण हो
जो प्रत्यक दिन मूल्यहीन बाँचिरहेको छ
हो, त्यसलाई अब त्यसलाई भत्काउनुपर्छ
हो म भत्किन चाहन्छु आफैँभित्र
सबै संवेदनशीलताबाट—असंवेदनशीलताबाट
सबै भावना र कल्पनाबाट—चाहनाबाट
सबै प्राप्ति र अप्राप्तिबाट — म भत्किन चाहन्छु
आफैँलाई विनिर्माण गर्दै म निर्माण गर्छु नयाँ स्वरूप नयाँ संकल्प
भ्रमको पहाडलाई गिँड्छु
अहङ्कारको आकाशबाट खस्छु
अपारदर्शी वस्त्रहरू च्यातेर नाङ्गो बन्छु
मैलो मस्तिष्कको नदीमा चरित्रको बल्छी हाल्छु
र निकाल्छु आँखाबाट अश्लील अतृप्त मूर्तिहरूलाई
हो, यसरी प्रत्येक अङ्ग-प्रत्यङ्गलाई इन्कारको आगोमा रपाउँछु
हो, म जल्न चाहन्छु आफैँभित्र मेट्न चाहन्छु पुरानो अस्तित्व
आफैँलाई विनिर्माण गर्दै म निर्माण गर्छु, नयाँ स्वरूप नयाँ सङ्कल्प
अँध्यारो कोठाभित्र
घिप धिप बलिरहेको मैनझैं
म अलग्गिन खोज्छु आफ्नै अँध्यारोबाट—उज्यालोतिर
र म बलिरहन्छु एक चिराग र बन्छु एक पुल्ठो ओढेको रात ।
बेलायत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

