कृष्णप्रसाद अर्याल

सुनाउनका लागि किस्साहरू छन्-

पहिलो पटक मन्दिर गएर केही मागेको भगवानसँग

दोस्रो पटक मन्दिर गएर त्यही आफ्नै वरलाई रद्द गरेको

 

घमण्ड गर्नका लागि अनेक अहंहरू छन्-

उसलाई पहिलोपटक पछाडिबाट देखेरै चिनेको

यही मान्छे हो राति मेरो सपनाबाट ब्युँझिएर हिँडेको

 

दुख्दा दुख्दा दुखेर बाँकी रहेको

फेरि बाँकी रहँदा रहँदा दुखेको

सुगौली सन्धिपछिको देशजस्तो छ ।

 

तर

बेला बेला मेरो चेतनालाई गिद्दले ठुङ्छ

आकाश छुन हिँडेको कल्पनाको हाँगो भुइँतिर नुग्छ

र म सोच्न थाल्छु-

 

‘नभएको भए पनि केही हुन्थेन ।’