जगन्नाथ पौडेल
ती आँखाहरू
जो अत्यासलाग्दा धुपहरूमा
भित्रभित्र रोए
कलेँटीलाग्दा सिरेटोहरूमा
बग्दैबग्दै रोए
तिनै आँखाहरू
जो जूनसँग एक्लै बिलौना गरे
माटोका डल्लाहरूसँग एक्लै बह पोखे
हलोका हातहरूसँग
एक्लै दिल खोले
भीरपाखाका हावाहरूसँग
एक्लो सुर बनाए
पात बजाउँदैबजाउँदै रूखमुनि
बुकीफूलसँग आँसुका गीत साटे
धीत मारेर कहिल्यै हाँस्न नभ्याएका ओठहरू
पुस्ट हुनै नभ्याएका गालाहरू थामेर
ती आँखाहरू
अर्का सुकिला आँखाहरू खोज्दैखोज्दै हिँडे
अँधेरी रातमा
कहिल्यै नमोटाएका ती आँखाका गालाहरू
पुस्ट गालाहरू खोज्दै हिंडे उकालीहरूमा
कहिल्यै हाँस्न नभ्याएका ती आँखाका ओठहरू
हँसिला ओठहरू खोज्दै बगे ओरालीहरूमा
ती आँखाहरूले खोजेका उज्याला आँखाहरू
अहिले मेरो अनुहारभरि उज्यालो रङ पोतिरहेछन्
ती आँखाहरूले खोजेका पोटिला गालाहरू
अहिले मेरो गालाभरि फक्रेर हाँस्न खोजिरहेछन्
तर
मेरा हाँसेका ओठहरू हेर्न खोज्ने
ती एक्लै रोएका मेरा बाका आँखारू
कस्ले चोरेर लग्यो
खोज्दैखोज्दै मेरा आँखाहरू रोइरहेछन् आजभोलि ।
अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

