सञ्जु सुवेदी

 

सञ्जु सुवेदी

तिमी हौ त्यो युगको एउटा यात्री
खण्ड-खण्ड राज्यलाई अखण्ड बनाउने
अस्तिको त्यो लोकतन्त्रमा हिजोको गणतन्त्रमा
आजको जनतन्त्रको नाममा जनताको शासनको स्वातन्त्रतामा
तिम्रै वीरताको देन छ
छोटो आयुमा लामो इतिहास रच्ने
हौ एक पराक्रमी वीरताको प्रतीक ।

होलान् विरोधी पनि कोही
नुवाकोट, मकवानपुर र कीर्तिपुर विजयमा
विश्वसामु गोर्खाली भनी कहलिने इतिहास रच्ने
बाइसे चैबीसे राज्यलाई जोडी
एकीकरणको माला तुनेर
सिङो देशको परिकल्पना गर्ने
फराकिलो आँगनको निर्माणकर्ता तिमी
के नै अर्थ छ विरोधका तर्क वितर्कको पनि
त्यही त हो नि धज्जी उडाउने आँगनी
अखण्ड सार्भभौम राज्य निर्माणकर्ता
हौ, एक सिङ्गो राष्ट्रियको स्वाधीनताको दूरदर्शी ।

आहा, क्या वाणी छ तिम्रो !
“मेरा साना दु:खले आर्ज्याको मुलुक होइन
सबै जातको फूलबारी हो”
एउटै छहारीमुनि प्रजालाई राख्ने
सगरमाथा छ विश्वको ध्यान खिँच्ने
नक्सा नै नेपालको सुन्दर छ आकृतिमा पनि
आज पृथ्वी जयन्तीको सम्झना
तिमी एक राष्ट्रपिता
यो देशको जन्मदाता
तिमी हौ त्यो युगको एउटा यात्री
खण्ड-खण्ड राज्यलाई अखण्ड बनाउने ।