योगेन पौडेल

 

तिमी पनि नखाऊ कसम
म पनि खान्नँ कसम
होला, साँचै होलान् तिम्रा कसम
होला, साँचै होलान् मेरा कसम
तर कसम आखिरमा बन्धनहरू न हुन्
तर कसम आखिरमा साङ्लाहरू न हुन्
यी साङ्लाहरूमा नबाधिऔँ, मुक्त बाचौँ
स्वतन्त्र बाँचौँ, प्रिय उन्मुक्त हासौँ
एकठाउँमा जम्नलाई, यो जिन्दगी छोटो छ
तरल तरल बगौँ बरु, धेरै धेरै फैलनु छ।

शायद प्यारो थियो पैले, मलाई तिम्रो साथ
तिमीलाई अझै प्यारो, शायद अरुको साथ
मभित्रको चिसोले तिमीमा
शायद एउटा न्यानो देखेको थियो कि?
शायद झुलुक्क एउटा सूर्य भेटेको थियो कि ?
दिलको भित्र, धेरै-धेरै भित्र
प्यारो गरेर तिमीलाई राखेको थियो कि?
तर यी त उहिलेका कुरा
यी त उहिल्यै खुइलेका कुरा
यी फगत् बालुवामा लेखेका अक्षरका कुरा
हावाले ती अक्षरहरू पुर्यो
र, एउटा कथा सकियो

अहिले कसम खाएर पछि तिमीलाई लाग्ला
बाँधिएको जस्तो
सम्बन्धको पिन्जडा तोडेर निस्फिक्री उडिदिउँजस्तो
अहिले कसम खाएर पछि मलाई पनि लाग्ला
स्वतन्त्रता हराएको जस्तो
बन्धनका ती साङ्ला चुँडाईदिउँजस्तो
त्यसैले आऊ
पहिले झैँ फेरि साथी बनौँ
पहिले झैँ साथी मात्रै बनौँ
न त्यो भन्दा धेरै, न थोरै, मात्रै साथी बनौँ
किनकि, केही चिज हुन्छन्
तिनलाई ठिक्क राखेकै ठीक
जसरी फूललाई पानी
कम भए ती ओइलाउँछन्, बढी भए ती मर्दछन्।

(कवि क्रिस्टिना रोसेटी (इङ्ग्ल्याण्ड, 1830-1894)को Promises are like pie-crust बाट भाव ग्रहण गरिएको)