डा. हिम लाल श्रेष्ठ

 

डा. हिम लाल श्रेष्ठ

यता विशे नगर्चीको
बयान सकिएकै थिएन
उता खड्का काजीहरूसँगको
बैठान बाँकी नै थियो
घले राजाहरूसँगको मनमुटाव
सामान्य बनेकै थिएन
दुल्लभ ज्योतिषको चन्द्रमाको
उज्यालो निभेकै थिएन
ढकाल पण्डितको ‘काशी खोला’मा भिजेको
कमिजको बाउला सुकेकै थिएन
पृथ्वीनारायणका सेनाहरू
दुरुस्त बनिसकेकै थिएनन्
चेपे खोलामा बगेको दुधको
भारा तिरी सकिएकै थिएन
लिगलिग कोटमा अझै द्रव्य शाहको
जित भैसकेकै थिएन
राम शाहले न्याय खोज्न गोरखा आउनेलाई
पूर्ण न्याय दिई सकेकै थिएनन्
सबथोक थाँति राखेर
अनायास बहादुर शाह
विश्व विजय गर्न हिंड्यो
ऊ पूर्वमा टिस्टा र पश्चिममा कांगडा पुग्यो
कहिले सुगौली
कहिले लाहोर
कहिले सतलज पुग्यो
युद्धका गैर-उत्पादन छाड्दै हिँड्यो !

 

अश्राङ्ग, गोरखा
हाल – कटुन्जे, भक्तपुर