एकदिन ठूलो बाढी आयो
घर डुब्यो
छातीसम्म पुरिने बाढीमा हेलिँदै
मलाई काँधमा बोकेर पल्लो गाउँमा पुर्याएर फर्कनु भो
मैले देखेँ, मेरा बालाई बाढीसँग डर नै लाग्दैन

मलाई आँप खान मन लाग्यो
रुख चढ्ने हिम्मत आएन
रुखका फल हेरेको बाले देख्नुभएछ
सुरेली खेल्दै रुखको टुप्पामा पुगेर हाँगा हल्लाउनुभो
भरर आँप खसे
बा लड्नुहुन्छ कि भनेर मलाई डर लाग्यो
तर बा डराउँदै डराउनु भएन

साँच्चै बालाई डर नै लाग्थेन
मलाई भुस्याहा कुकुरले झम्टँदा कुकुरलाई झम्टेर भगाउँदा
मेरो होमवर्क कपी पुर्याउन चर्को घाममा दौडेर स्कूल पुग्दा
फि तिर्न नसक्दा हेडसरका वचन सुन्दा
मलाई खुवाउन मौरीको घारबाट मह निकाल्दा
मलाई गाली गर्ने छिमेकी काकासँग झगडा गर्दा
अहँ, मेरा बालाई कहिल्यै डर लागेन

तर नडराउने मेरा बा
म घर पुग्न ढिलो हुँदा डराउनुहुन्छ
मैले दिएको परीक्षाको नतिजा आउने बेलामा डराउनुहुन्छ
मैले निन्याउरो अनुहार लगाउँदा आत्तिनुहुन्छ
मैले थोरै खाना खाँदा छटपटी हुन्छ बालाई
बिहान जागिर जाँदा चिसो लाग्छ भनेर बा तर्सनुहुन्छ

बा नडराउँदा म मात्तिन्थेँ
अचेल बा डराउँदा म आत्तिन्छु

मेरा बाको डर अचेल ममा सरेको छ ।