चिरन कोइराला
ऊबेला
ऊ
अर्थात् सहिद
अन्तिम पटक
काठमाडौंका चिसा चोकहरूमा
क्रूर जल्लादहरूका विरुद्ध
साहसका साथ लडिरहेको थियो
लोकतन्त्रको अस्तित्वका लागि
क्रोधले कस्सिएका मुठ्ठीहरू
सपनामग्न टोलाइरहेका आँखाहरू
पटपट चिरिएका पाउहरू
र कलेँटी परेका ओठहरू उधिनेर
मन्द मुस्कानसँगै
विजयी मुद्रामा
निर्धक्क
उन्मुक्त
ऊ अन्तिम पटक
तरबारजस्तै धारिला
कठेर कैंचीहरूका विरुद्ध
सङ्घर्षमा समर्पित थियो
फाँसीको डोरीमा निशङ्कोच चढेको थियो
स्वतन्त्रताको अस्तित्वका लागि
साहसको दुखाइ पनि
क्या खुब हुन्छ
न देखिन्छ
न सुनिन्छ
बस् महसुस हुन्छ
कतिपय पीडा व्यक्त गर्दैनन्
चुपचाप विघटन गर्छन्
हो, ऊ ठ्याक्कै त्यस्तै थियो
डोलीमा कलश
र बाजागाजा लिएर
रवाफका साथ घोडामा सवार स्वतन्त्रताका कसाहीहरू
उसको वधको तयारी गरिरहेका थिए
महलको खोपीमा सजाइएका काला पत्थरहरू मुस्कुराइरहेका थिए
रातो पासपोर्ट
रातो टाई
रातो (लाल) पुर्जा
रातो कलमधारी
रातो खोपीको
नाङ्गो नयाँ बादशाह
उसको मृत्युपत्रमा हस्ताक्षर गर्दै थियो
त्यसले उसलाई हसाउँथ्यो
र त्यो हाँसोलाई कैद गर्दै
ऊ गर्जिन्थ्यो
ए आसपासमा उभिएका भोलिका आउनेवाला मुर्दाहरू
यति धेरै उदास नहोऊ
दास भएर नबाँच
बाँच्नु मात्रले खास अर्थ राख्दैन
स्वतन्त्रतापूर्वक बाँच
सम्मानपूर्वक बाँच
………
ओ
मुस्कुराइरहेका शहीद
खै कसरी बताऊँ
कठमुल्लाहहरूको पोट्रेट
दलदलको मेनिफेस्टो
योभन्दा वेदनायुक्त समयको फेहरिस्त
तिमीले दिएको सुन्दर देश रोइरहेको सूचना
यो शताब्दीको सबैभन्दा निरीह मान्छे भएका छौँ हामी
हामी विश्वास गर्छौँ
तिमी बाँचिरहेका छौ
तिम्रो सपनाको काखमा
हामीलाई लिन सक्छौ ?
हामी धेरै लामो समयदेखि
खुशी चाहन्छौँ
विछोडको कष्टमा हामी कसरी हासौँ ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।