अमृता प्रितम १९२० को दशकमा जन्मेकी पन्जाबी मूलकी भारतीय साहित्यकार हुन् । उनलाई भारतको पहिलो प्रभावशाली पन्जाबी महिला कविको रुपमा लिइन्छ । उनका सयभन्दा बढी प्रकाशित कृतिहरू भारतीय र अन्य भाषाहरूमा अनुदित छ्न् । साहित्य अकादमी जस्तो पुरस्कारबाट सम्मानित उनी कुनै समय प्रगतिशील साहित्य आन्दोलनको प्रभावशाली हिस्सा थिइन् ।

अनुवादः मोहित जोशी

 

आदि पुस्तक

म थिएँ — र सायद तिमी पनि

सायद एक मांसको दूरीमा उभिएका
सायद एक नजरको अँध्यारोमा बसिरहेका
सायद महसुसको एक मोडमा हिँडिरहेका
तर त्यो प्रागैतिहासिक समयको कुरा हो

यो मेरो र तिम्रो अस्तित्व थियो
जो दुनियाँको आदि भाषा बन्यो
मेरो पहिचानको अक्षर बन्यो
तिम्रो पहिचानको अक्षर बन्यो
र उनीहरूले आदि भाषाको आदि पुस्तक लेखे

यो मेरो र तिम्रो मिलन थियो
हामी पत्थरको शय्यामा सुत्यौ
र आँखा, ओठ, औंला, पैताला
मेरो र तिम्रो वदनको अक्षर बन्यो
र उनीहरूले त्यस आदि पुस्तकलाई अनुवाद गरे।

ऋग्वेदको रचना त धेरै पछिको कुरा हो।

**
आदि रचना

अमोहित जोशीम – एक निराकार म थिएँ

मोहित जोशी

यो ‘म’को सङ्कल्प थियो, जो पानीको रूप बन्यो
र ‘तिमी’को सङ्कल्प थियो, जो आगो जसरी प्रज्ज्वलित भयो
र आगोको ज्वाला पानीमा चल्न थाल्यो
तर त्यो प्रागैतिहासिक समयको कुरा हो

म माटोको प्यास थिएँ
कि उसले ‘तिमी’को नदी पिइदियो
म माटोको हरियो सपना
कि ‘तिमी’को जङ्गल उसले खोजीदियो
म माटोको गन्ध थिएँ
र तिमीलाई आकाशसँग प्रेम थियो
र तिम्रो नी..लो सपना
माटोको शय्यामा सुत्यो।
यो तिम्रो र मेरो मांसको सुगन्ध थियो–
र यो हकिकतको आदि रचना थियो।

संसारको रचना त धेरै पछिको कुरा हो

**
आदि चित्र

म थिएँ — र सायद तिमी पनि

म छहारी मुनिको हल्लिरहेको छाया
र तिमी पनि सायद मट्याइलो छाया
अँध्यारोको भित्र अँध्यारोको टुक्रा
तर त्यो प्रागैतिहासिक समयको कुरा हो

रात र रुखको अँध्यारो थियो
जो तिम्रो र मेरो पोशाक थियो
सूर्यको एक किरण आयो
दुवैको वदन छोएर
प..र पत्थरमा अङ्कित भयो
सिर्फ आगोको गोलो थियो, चन्द्राकार थियो
यो दुनियाको आदि चित्र थियो
पातहरूले हरियो रङ्ग भरे
बादलहरूले दुधिलो, धुम्म आकाशले खरानी
र फूलहरूले रातो, पहेँलो, वैजनी।

चित्रहरूको कला त धेरै पछिको कुरा हो

**
आदि सङ्गीत

म थिएँ — र सायद तिमी पनि

एक असीम खामोसी थियो
जो सुकेको पातहरू जसरी झर्थ्यो
वा यसै किनाराको बालुवा जसरी घुल्थ्यो
तर त्यो प्रागैतिहासिक समयको कुरा हो

मैले तिमीलाई एक मोडमा आवाज दिएँ
र जब तिमीले फर्केर आवाज दियौ
तब हावाको गलामा केही थर्थरायो
माटोको कण केही सर्सरायो
र नदीको पानी केही गुनगुनायो
रुखका हाँगाहरू केही दृढ भए
पातहरूबाट केही झङ्कार उठ्यो
फूलका कोपिलाले आँखा झिम्काए
र एक चराको पङ्ख हल्लियो
यो पहिलो नाद थियो जुन कानहरूले सुनेका थिए

सात सुरहरूको संज्ञा त धेरै पछिको कुरा हो

**
आदि धर्म

मैले जब तिमीलाई पहिरिएँ
तब दुवैको वदन अन्तर्ध्यानमा थियो
गुलबहार फूलहरू जसरी गुथिएका
र आत्माको दरगाहमा अर्पित भयो

तिमी र म हवनको अग्नि
तिमी र म सुगन्धित सामग्री
एक-अर्काको नाम ओठबाट निस्कियो
र त्यही पूजाको मन्त्र बन्यो
यो तिम्रो र मेरो अस्तित्वको एक यज्ञ थियो
धर्मकर्मको कथा त धेरै पछिको कुरा हो

**
आदि कबिला

‘म’को जब ऋतु भरिएको थियो
मांसको बोटमा फल पाक्यो
पवनको आँचलमा सुगन्ध बाँधियो
‘तिमी’को अक्षर लहलाएको थियो

‘म’को र ‘तिमी’को छायाँमा
जब ‘ऊ’ आएर निश्चिन्त सुत्यो
यो ‘ऊ’को एक मोह थियो
गहुँको दाना हामीले बाँड्यौ
‘ऊ’ सहज थियो, स्वाभाविक थियो, ‘म’को र ‘तिमी’को तृप्ति

कबिलाहरूको कथा त धेरै पछिको कुरा हो ।

**
आदि स्मृति

कायाको हकिकतदेखि लिएर-
कायाको आबरुसम्म म थिएँ
कायाको सुन्दरतादेखि लिएर-
कायाको प्रेमसम्म तिमी थियौ

यो ‘म’ अक्षरको ज्ञान थियो
जसले ‘म’लाई आचरण सिकायो
यो ‘तिमी’ अक्षरको उत्सव थियो
जसले ‘ऊ’लाई चिन्यो
भय-मुक्त ‘म’को हस्ती र भय-मुक्त ‘तिमी’को, ‘ऊ’को

मनुको स्मृति त धेरै पछिको कुरा हो ।

 

अमृता प्रितमबारे थपः

आज अमृता प्रितमको जन्मदिन | साहित्यपोस्ट (sahityapost.com)

अमृता प्रितमको कविताः कुनै भेट | साहित्यपोस्ट (sahityapost.com)