शरद ऋतु फेरि आइपुग्न लाग्यो
पारिजातका फूलहरू फेरि फुल्न थाल्यो ।

उही ऋतु
उही पारिजातको सुगन्ध
सँगसँगै बिदा गरेका थियौँ
भुलेका त छैनौ होला !

मबाट
कतै धेरै टाढा लैजान खोज्यौ होला आफूलाई
हरेक यादहरूसँग पनि सम्बन्ध तोड्न खोज्यौ होला
हाम्रो ऋतुलाई घृणा गर्न थाल्यौ होला
पारिजातका सुगन्धबाट भाग्न थाल्यौ होला ।

तिमीलाई स्पर्श गर्ने हावाहरू
मलाई नै चुमेर आउँछन्
तिमीसँग ठोक्किने
पानीका हरेक थोपासँग म परिचित छु ।
तिमीलाई न्यानो दिने घामले मेरो शीतलता चोरेको छ
तिमीलाई शीतल दिने जूनले मेरो न्यानोपन हरेको छ ।

भन्थ्यौ नि, तिमीदेखि यति टाढा जान्छु
न त्यहाँ कुनै ऋतुको मूल्य हुन्छ
न त कुनै पारिजात नै फुल्छ
अनि कसरी आउँछ तिम्रो याद ?

सुन त
त्यहाँ हावा त चल्छ नि
पानी त पर्छ नि
घाम लाग्दैन ?
अथवा जून देखिँदैन ?

उसको याद अझै आउँछ भन्दा
माथि–तल होइन
दायाँ–बायाँ मुन्टो हल्लाउँछौ रे

तिमी भ्रममा छौ प्रिय
तिमीले मलाई सम्झिन बिर्सेको छैनौ
तिमीले त मलाई बिर्सिन बिर्सेको छौ ।