दीपेन्द्र आचार्य

 

दीपेन्द्र आचार्य

ए जून !
अचेल मलाई तँ
पटक्कै मन पर्दैन
अनुहारभरि दाग बोकेर
युगौंदेखि मलाई चियाउनुभन्दा
ब्युटी पार्लर छिरेरै भए नि
फाउन्डेसन लगाएरै भए नि
दाग लुकाउनु पर्थ्यो तैँले
अनुहारको।

ए खोला !
कति निर्धालाई बगाएर
देखाउँथिस् वीरता
तेरो छातीमा रहेको
एक मुट्ठी रौंमा
बलिष्ठ पुरुषको बलभन्दा बढी
करेन्ट बोकेर दगुर्ने तँ
एउटा बाँधसमेत तोड्न
नसकेको देख्दा
अचेल मलाई त
स्खलित भैसकेको पुरुषको
पुरुषत्वजस्तो मात्रै लाग्छ।

ए माटो !
प्रत्येक पल टेकेर तँलाई
राष्ट्रियता बोकेको मान्छे
विमानस्थलबाट आकाशिएको
टुलुटुलु हेरेको देख्दा
अचेल मलाई तँ
मेरो देशको माटोजस्तो लाग्दैन ।

ए सगरमाथा !
मेरो बुवाको शीरभन्दा
उच्च लाग्थ्यो तेरो उचाई
पटक पटक तर
एड्मन्ड र तेन्जिङहरूको
पाइतालामुनि
दबेको तेरो उचाई देख्दा
अचेल मलाई तँ
होचोभन्दा नि होचो लाग्छ।