कमल शिशिर
बाल्यकालका थुप्रै सिरटोहरू
अनकन्टार भिरहरू, त्यस्तै गोरेटोहरू
शिशिरको ठिहिर्याउने तुषारो
वैशाख जेष्ठको भतभती पोल्ने धुप
बिना कुनै चाहना तिम्ले त बितायौ
मैले पनि बिताएँ आमा
जान्ने भएपछि तिमीले
कोसौं टाढा गएर किनिदियौ
एक जोडी चप्पल
चप्पल नहुँदा पनि त
हामीलाई चाड आएकै थिए
चुल्होमा खोले पाकेकै थियो
उम्रेकै थियो बारीका कान्लामा सिस्नो
आरनमा बराज्यू आएकै थिए
वर्षमा एकचोटि बालीघरेको भाग पाएकै थियौं।
तिमीले चप्पल ल्याइदिएपछि
खै के खुशी पाएँ मैले
खोले पकाउँदा
आरन चलाउँदा
सिस्नो काट्दा
बाली उठाउँदा
कहिल्यै छोडिन चप्पलको साथ
लाहुरेले टेपरिकार्ड बोकेर आउँदा
के खुशी हुन्थ्यो ऊ
त्यो भन्दा खुशी थिएँ म
खुशी फुर्तिमा देखिन्थ्यो सपाट।
तिमीले आफ्नो खुशी मारेर
पटुकीको छेउमा गाँठो पारेर
मेरा जुँगाको रेखी बस्ने बेला
चप्पल ल्याइदिएकी थियौ आमा
त्यही बेला थाहा पाएको हुँ
आफ्नो खुशी मारेर
अर्कोलाई खुशी पारेर
फेरि पनि त खुशी मिल्ने रैछ।
घरमा एक जोडी चप्पल ल्याएपछि
सोधेकी थियौ अब त भयो नि गोरे
खुशी छस् नि मन पर्यो नि
मेरा खुट्टा अब भुइँमा थिएनन्
हर्षले मेरो माथा सगरमाथा भएको थियो
मलाई देखेर खै के सोच्यौ
अनि चुहायौ केही थोपा आँशु
फेरि हत्तपत्त मझेत्रोको फेरोले पुछिहाल्यौ
अनि मुस्कुराउँदै भन्यौ
मन परेको चप्पल पो चप्पल हुन्छ नत्र खाली खुट्टा ठीक।
पनाहा खोलामा सिमे साग खोज्दा
चुल्होमा खोले पकाउँदा
चुहिने छानामुनि आरन लाउँदा
फलामलाई घनले पिट्दा
ठूलो पँधेरोमा पानी भर्दा
मैले छोडिन चप्पलको साथ।
बै ले अति गरे खति हुन्छ भनेको
सुनेको थिएँ सानोमा
एकदिन सोहोर्दा सल्लीपिर घोप्टे भीरमा
घाउ लाग्यो मेरो तकदिरमा
सल्लीपिरको बीचमा मेरो पीर पनि थपियो
कालको मुखबाट म फर्किएँ
तर कहिल्यै फर्किएन
काली रहमा खसेको मेरो चप्पल।
आज पनि चप्पलको सुर्ताले छोड्दैन
मेरो खुशीको पनि राजा थियो
त्यही एक जोडी चप्पल
मेरो एकनासेपनले तिमी रिसायौ
तिमी झिँझियौ
तिमी झर्कियौ
ठीक छ आमा
तर तिमीले हिजो
खुट्टा भए चप्पल हजार भेटिन्छन् भन्यौ
कसरी देखाउन सक्यौ यो द्वैध चरित्र।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।